स्नेहा खरेल
अम्बा (अम्बक, बेलौती, लत्ताम) स्वादिलो मात्रै हुँदैन । यो फल स्वास्थ्यको दृष्टिले समेत निकै उपयोगी हुन्छ । पौष्टिकताले भरिपूर्ण हुने अम्बालाई आयुर्वेदले अमृत फल भनेको छ ।
अम्बाको उत्पत्ति पेरुमा भएको मानिन्छ । आधुनिककालमा युरोपेलीको आगमनसँगै भारतमा यसको प्रवेश भएको थियो । अहिले भारतका धेरै ठाउँमा यसको व्यावसायिक खेती हुने गरेको छ ।
अम्बालाई कहिले पनि ताछेर खाने गर्नुहुन्न किनभने यसमा भिटामिन सीको मात्रा धेरै बढी हुन्छ । भिटामिन सी दाँत र गिजाको रोग तथा जोर्नीको दुखाइको उपचारमा निकै उपयोगी हुन्छ ।
पाकेको भन्दा काँचो अम्बामा भिटामिन सी को मात्रा बढी पाइन्छ । बिहान भोजन गर्नुअघि अम्बाको नियमित सेवन गर्नाले कब्जियतको समस्या दूर हुन्छ । अम्बा खाइरहने गरे शरीरमा सेरम कोलेस्ट्रोल घट्छ र उच्च रक्तचापको जोखिमबाट टाढै बस्न सकिन्छ । अम्बाको बीउ चपाएर खानाले पनि शरीरमा लौह तत्व (फलाम/आइरन) को पूर्ति हुन्छ ।
अम्बाको पात विभिन्न रोगदेखि छालालाई सुन्दर बनाउनका लागि पनि उपयोगी हुन्छ । अम्बाको पातले मोटोपन समेत घटाउन मद्दत गर्छ । अम्बाको पातलाई थिचेर त्यसको रस निकाल्ने र त्यसमा थोरै पानी मिलाएर पिउनाले स्वप्नदोषबाट छुटकारा मिल्छ । अम्बाको पातको रसले पखाला निको हुनुका साथै पाचन प्रक्रिया राम्रो बनाइदिन्छ । अम्बाको पातले दांत र गिजाको समस्या पनि समाधान गरिदिन्छ । अम्बाको पात थिचेर, त्यसको रस पिउनाले कोलेस्ट्रोल पनि घटेर जान्छ । अम्बाको पातले एलर्जी पनि निको पारिदिन्छ । यसको नियमित सेवनले एलर्जी आउने सम्भावना पनि हराइदिन्छ ।
अम्बाको पात सुन्दरताको लागि पनि त्यत्तिकै उपयोगी छ । अम्बाको पात थिचेर डन्डीफोर भएको ठाउँमा लगाउनाले डन्डीफोर निको हुन्छ । अम्बाको पात चपाउनाले मात्र पनि अनुहारमा चमक आउँछ । अम्बाको पात कपालको लागि पनि राम्रो हुन्छ । यसको रस कपालमा लगाउनाले कपाल सिल्की हुने, छिटो बढ्ने हुन्छ ।
पाकेको एक सय ग्राम अम्बा मात्र खाए पनि हामीलाई १५२ मिलिग्राम भिटामिन सी, ७ ग्राम पाचन क्रियामा सहायक रेसा, ३३ मिलिग्राम क्याल्सियम र एक मिलिग्राम फलाम प्राप्त हुन्छ । साथै यसमा फस्फोरस र पोटासियम धेरै ठूलो मात्रामा हुन्छ । यी तत्व शरीरलाई हृृष्टपुष्ट बनाउन आवश्यक हुन्छ ।
अम्बाको प्रयोगले अनेकांै रोगहरुको निवारण गर्ने गर्दछ । वास्तवमा अम्बामा औषधीय गुणहरु धेरै नै छन् जनमानसमा यसको गुणको बारेमा थाहा नहुँदा गाउँघरमा पाकेको अम्बा (बेलौती) त्यसै खेर गएको देखिन्छ । यदि हामीहरुले दैनिकरुपमा लगातार एक महिनासम्म दुईवटाका दरले अम्बा खाने बानी गर्ने हो भने हाम्रो शरीरलाई चाहिने जति पौष्टिक तत्व पाउनुका साथै धेरै किसिमका रोगहरुको सहजै निराकरण गर्न सक्छौं । त्यसैले माथि बताइएका प्रविधिलाई एकपटक अपनाई हेर्नुहोस् तब मात्र थाहा पाउन सक्नुहुनेछ । आशा छ महंगा फलफूल खानु भन्दा सस्तो फल अम्बा नै खाने बानी गरौं । यसैले हाम्रो स्वास्थ्यलाई स्वस्थ बनाउन सक्छौं ।