लोड हुँदैछ...

मेनु

पुन : कोरोनाको त्रास, सतर्कता आवश्यक

पुन : कोरोनाको त्रास, सतर्कता आवश्यक

लामो समयसम्म संक्रमण नदेखिएको कोरोना फेरि देखिन थालेको छ । लगभग शुन्यमै रहेको संक्रमण दर दैनिक दर्जनौंमा देखिने अवस्था चिन्ताको विषय हो । गत चैत १२ गते एकैदिन १६ जनामा संक्रमण देखिएयता दैनिक संक्रमितको संख्याब बढिरहेको छ । त्यसपछि एकै दिन ३४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो समय भारतमा संक्रमण बढेका कारण नेपालमा पनि संक्रमण बढेको विज्ञहरुको भनाइ छ । त्यसैले अहिले मानिसहरू थोरै भए पनि संक्रमणलाई लिएर फेरि सचेत हुन थालेका छन् । यो सचेतता सामूहिक रुपमा व्यवहारतः अभिव्यक्त हुन जरुरी छ ।

कोरोना जुनसुकै बेला तीव्र गतिमा फैलिन सक्छ । त्यसका लागि सतर्कता र खोप नै मुख्य रुपमा प्रतिरोधका उपाय हुन् । त्यसो त स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार २०७९ फागुन ९ गतेसम्म नेपालको कुल जनसंख्याको ७६.५ प्रतिशत र १२ वर्ष माथिका ९५.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यति हुँदाहुँदै पनि अतिरिक्त मात्रा खोप लगाउने संख्या भने ज्यादै कम्ती छ । अहिलेसम्म २७ प्रतिशत मात्र रहेको छ । केही समययता नेपालमा भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, साबुन पानीले हात धुनेजस्ता जनस्वास्थ्यको मापदण्ड पालना गर्न छोडिसकिएको छ । संक्रमण बढ्न थालेका कारण अब पुनः सजगताका यी विषय अवलम्बन गर्नुपर्ने खाँचो छ ।

सतर्कतासँगै खोप अभियानबारे पनि उत्तिकै अग्रसरता देखिन जरुरी छ । महामारी रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार सामान्यतयाःसंक्रमण भएपछि वा खोप लगाएको ६ महिनापछि कोरोनाविरूद्धको एन्टिबडीमा ह्रास हुँदै जाने विभिन्न अनुसन्धानहरूले देखाएको छ । नेपालमा अधिकांश मानिसहरूले खोप वा बुस्टर डोज लगाएको ६ महिनाभन्दा बढी भइसकेको छ । अहिले फेरि संक्रमण बढ्दै जाँदा मानिसहरूले खोपको बुस्टर डोज (अतिरिक्त मात्रा) बारे चासो लिन थालेका छन् । खोपको पूर्ण मात्रा नलिएकाहरुलाई तत्कालै खोपको दायरामा ल्याउने पहल स्थानीय तहहरुले गर्न जरुरी छ । फेरि पनि उही आकारको संक्रमण झेल्न हाम्रो आर्थिक र सामाजिक अवस्थाले पक्कै सक्नेछैन । यसर्थ बाँकी भएकालाई खोपको दायरामा ल्याउनैपर्छ । यो मामिलामा वेवास्ता वा खेलाँची गर्ने भूल गर्नैहुन्न ।

संक्रमण दर बढेपछि स्वाभाविक रुपमा स्वास्थ्य जटिलता पनि बढ्छ । यसका लागि अस्पतालहरुलाई चुस्त तुल्याउनेतिर पनि सरकारको ध्यान जान जरुरी हुन्छ । खासगरी स्थानीय सरकारहरुले पनि आ–आफ्नो पालिका क्षेत्रमा स्वास्थ्य संस्थाहरुलाई तयार राख्नुपर्छ । यसअघिका कोरोना लहरले हामीलाई ठूलो पाठ सिकाएका छन् । त्यसबाट शिक्षा लिन कसैले पनि ढिलाइ गर्न हुँदैन । प्रहरी, स्थानीय सरकार तथा समुदायको सहकार्यमा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा पनि कडाई गरिनुपर्छ । खासगरी मास्कको अनिवार्य प्रयोग र सरसरफाईमा ध्यान दिन सर्वसाधारणलाई अपिल गरिरहनुपर्छ । त्यसको नियमित अनुगमन पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।