विराट गोल्डकप

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर फाइनलमा

उपाधिको लागि घरेलु टोली विराटनगरसँग केरलाको लुका सकर क्लब भिड्ने

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै भारत केरलाको लुका सकर उपाधि नजिक पुगेको हो ।

जितसँगै उपाधिको लागि भारतले घरेलु टिम विराटनगर सिटी (बिसिएफसी) सँग बिहीबार फाइनल खेल्नेछ । केरलाले क्वाटरफाइनलमा पनि संकटा क्लबलाई सडनडेथमा ८–७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । विराटनगरले जावलाखेललाई २–१ गोलले हराउँदै उपाधि यात्रा गरिसकेको छ ।

जितको लागि भारतको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले गोल गरेका थिए । भारतका क्यामुद्धिनको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटेले बचाएका थिए ।

एपीएफकोतर्फबाट बिसाल स्याङतेन र गोलकिपर राजु नगरकोटेले गोल गर्न चुक्दा डिफेन्डर च्याम्पियन एपीएफ सेमिफाइनबाट घर फर्किन बाध्यो भयो । बिसालको प्रहार भारतका गोलकिपरले उत्कृष्ट सेभ गरेका थिए । गोलकिपर राजुको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
एपिएफको तर्फबाट दिपेश धिमाल र सबिन गुरूङले मात्र गोल गरेका थिए ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाईब्रेकरबाट भएको हो ।

एपीएफ र भारत दुवै टिमले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । पाएको गोल गर्ने सुन्दर अवसर खेर फाल्दा सातौं संस्करणको उपाधि होल्ड गर्ने सपना एपीएफको चकनाचुर भयो ।

प्रतियोगिताको म्यान अफ द म्याच भारतका गोलकिपर महमद सरफिर घोषित भए । उनले नगद ११ हजार पाए ।


जितपछि प्रतिक्रिया दिदै भारतका प्रशिक्षक न्याभसले खेलाडीहरुले राम्रो प्रर्दशन गरेको कारणले जित हासिल गरेको बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगितमा यो हाम्रो लागि पहिलो हो,’ उनले भने, ‘खेलाडीहरुले राम्रो खेल्दा उपाधि होल्ड गर्न पुगेका छौं ।’

यता एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले राष्ट्रिय खेलाडीको अभाव र केही खेलाडीहरु घाइते भएको कारणले हार भएको बताए । ‘खेलाडीहरुले थुप्रै अवसर पाएका थिए । त्यो सदुपयोग गर्न नसक्दा हार भयो,’ उनले भने ।

 

 

 

मङ्गलबार, १४ चैत, २०७९, रातीको ११:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर