विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ । विराटनगरको सहिद मैदानमा रात्रीकालिन गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ ।
विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा सञ्चालित प्रतियोगिताको सातौं संस्करणको तेस्रो क्वाटरफाइनल खेल एपीएफ र पहिलो पटक प्रतियोगितामा भाग लिएको भुटानबीचको खेल हुनेछ । नतिजा आआफ्नो पक्षमा पार्ने दाउमा रहेका दुवै टिम कसको पक्षमा पर्ने हो भन्ने विषयले माहोल तताएको छ । फुटबल प्रेमीहरुबीच यसको चर्चा चुलिएको छ ।
छैठौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि एपीएफले जितेको थियो । भारतको पन्जाब पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको थियो ।
शुक्रबार डनडेथमा जित निकाल्दै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वाटरफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जावलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
बिहिबार भएको उद्घाटन खेलमा नेपाल प्रहरीलाई १– ० गोलले हराउँदै घरेलु टिम विराटनगर सिटी क्लब अन्तिम चारमा पुगेको छ । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।