विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लबबीचको प्रतिस्पर्धा जारी छ । विराटनगरको सहिद मैदानमा साँझ ७ बजेदेखि प्रतियोगिता सुरु भएको हो ।
ए डिभिजन लिग खेल्दै आएको जावलाखेललाई पहिलो पटक मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता विराट गोल्डकप खेल्ने अवसर मिलेको हो । आर्मी पाँचौ संस्करणको विराट गोल्डकपको उपबिजेता टिम हो । २०७४ मा भएको गोल्डकपमा आर्मी थ्रिस्टारसँग फाइनलमा ३–० गोलले पराजित भएको थियो ।
दुवै टोलीसँग ए डिभिजनमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीहरु भएको कारण जितका लागि निक्कै संघर्ष गर्नुपर्ने हुन्छ । हिंजोको उद्घाटन खेलमा नेपाल प्रहरीलाई १– ० गोलले हराउँदै घरेलु टिम विराटनगर सिटी क्लब अन्तिम चारमा पुगेको छ । आज भएको दोस्रो क्वाटरफाइनल खेलको बिजेता टिम घरेलु टोली विराटनगर सिटीसँग सेमिफाइनलमा खेल्नेछ ।
चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
Ususdtua