विराट गोल्ड कपमा आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा आज  शुक्रवार विभागीय टिम त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लब खेल्दै छन् । विराटनगरको सहिद मैदानमा रात्रिकालीन हुने गोल्ड कपमा आज राती ७ बजे खेल सुरु हुनेछ ।
विराट गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा सञ्चालित प्रतियोगिताको सातौँ  संस्करणमा पहिलो पटक जावालाखेल  मैदान उत्रन लागेको हो । ए डिभिजन लिग खेल्दै आएको जावलाखेललाई पहिलो पटक मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता विराट गोल्ड कप खेल्ने अवसर मिलेको हो । आर्मी पाँचौँ संस्करणको विराट गोल्ड कपको उपविजेता टिम हो । २०७४ मा भएको गोल्ड कपमा आर्मी थ्रिस्टारसँग   फाइनलमा ३–० गोलले पराजित भएको थियो ।
दुवै टोलीसँग ए डिभिजनमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू भएको कारण जितका लागि निक्कै सङ्घर्ष गर्नुपर्ने हुन्छ ।
बिहीबार भएको उद्घाटन खेलमा नेपाल प्रहरीलाई १– ० गोलले हराउँदै घरेलु टिम विराटनगर सिटी क्लब अन्तिम चारमा पुगेको छ । आज भएको दोस्रो क्वाटर फाइनल खेलको विजेता टिम घरेलु टोली विराटनगर सिटीसँग सेमिफाइनलमा खेल्नेछ ।
चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
शुक्रबार, १० चैत, २०७९, बिहानको ०८:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर