विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ ।
सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का पारेको हो ।जितमा विराटनगरका आशिष् श्रेष्ठ नायक भए । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि थप गरिएको अतिरिक्त समयको १ सय १७ औँ मिनेटमा विराटनगरका आशिष् श्रेष्ठले निर्णायक गोल गरे । दिवाकर चौधरीले निकालिदिएको पासलाई आशिष्ले गोलमा परिणत गरे । खेलको १ सय ३ मिनेटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका आशिष्ले टिमको जितका लागि निर्णायक गोल गरेका हुन् ।
पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । निर्धारित समयसम्म प्रहरीका लागि निकै सङ्घर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । पुलिसले २०७४ सालमा विराट गोल्ड कपको उपाधि हात पारेको थियो । पूर्व विजेता प्रहरीले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिर बाध्य भयो ।
खेलको पाँचौँ मिनेटमा पुलिसका बुद्ध लामाको प्रहार विराटनगरका गोलरक्षक प्रदीप भण्डारीले उत्कृष्ट बचाए । १८ औँ पुलिसका रवि शंकर पासवानको प्रहार बारमा लागेर फर्किएको थियो । २४ औ मिनेटमा विराटनगरका अभिषेक गुरुङको प्रहार पुलिसका गोलरक्षक सञ्जीव श्रेष्ठले उत्कृष्ट बचाए ।
२८ मिनटेमा पुलिसका ओसेन्द्र कटुवालले ३० यार्डदेखिको प्रहार बाहिरायो । ४१ औँ मिनेटमा पुलिसका रवि शंंकर पासवानले पेनाल्टी एरियादेखि गरेको प्रहार पोसमाथिदेखि बाहिरिँदा गोल हुनबाट चुक्यो ।दोस्रो हाफपछि विराटनगरले केही सुन्दर मुभहरु बनाउन सफल रहयो । ५५ औँ मिनेटमा अभिषेक गुरुङको प्रहार बाहिरियो । ८३ औ मिनेटमा पुलिसमा भरत साहले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्न चुके । ८४ औँ मिनेटमा विराटनगरका युता सुजीकीले ३० यार्डदेखिको प्रहार पोसमाथिबाट बाहिरियो । ८८ औँ मिनेटमा पुलिसका रविशंकर पासवानको सशक्त प्रहार बाहिरायो । ९० औँ मिनेटमा विराटनगरका सन्देश विकले डिबक्स भित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो ।
सय मिनेटमा विराटनगरका अबिशेष गुरुङले ३० यार्डदेखिको प्रहार फितलो भएको थियो ।१०५ मिनेटमा पुलिसका भरत साहको वान भर्सेस वानको अवसर सदुपयोग गर्न सकेनन् । लगतै पुलिसका रविशंकरले डिफेन्डरलाई बिट मार्दै निकालिदिएको क्रस पासलाई भरत साहले अघि बढाएको बल सदुपयोग गर्न सकेनन् । ११३ औँ मिनेटमा विराटनगरका अभिशेष गुरुङले निकालेको पास पेनाल्टी एरियाबाट दिवसकर चौधरीले गरेको हेडिङ पुलिसका गोलरक्षक सन्जित श्रेष्ठले विफल पारिदिए ।
प्रतियोगिताको म्यान अफ द म्याच विराटनगरका उत्सव राई घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पाए ।शुक्रवार नेपाल आर्मी र जावलाखेल यूथ क्लबबिच हुनेछ । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।गोल्ड कपको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले गरे । उनले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार लागि पर्ने बताए । उनले खेलकुदको विकासमा प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।