विराटनगर ।सबैको परिवारमा बुवाआमाले छोराछोरीसँग बिताएका क्षणहरु हुन्छन् । त्यही क्षणहरु कालान्तारसम्म सम्झना बनेर मानसपटलमा अमिट भएर गाडिएको हुन्छ ।
छोराको सम्मानपछि भेटिएका राष्ट्रिय क्रिकेटर ललितनारायण राजवंशीको बुवा जयनारायण राजवंशी आफ्नो छोराको बाल्यकाल साट्दैथिए । नेपाल खेलकुद महासंघ मोरङ्ले राष्ट्रिय क्रिकेटर ललित र दिपेश कँडेललाई सम्मान गरिरहँदा ६० वर्षीय जयनारायणको चाहुरिएको अनुहारमा खुशीको कुनै सिमा थिएन ।
त्यसो त छोराको सम्मान र नेपालको जितमा खुशी साट्ने उनको बुबामात्रै थिएनन्, सँगै आमा सुककुमारीदेवी राजवंशी पनि उत्तिकै खुशी थिइन् । ललितका बुवा उनको बाल्यकालदेखिको क्रिकेट मोहका कुरा उत्साहित हुँदै सुनाउँदैथिए । विराटनगर महानगरपालिका १४ मा समान्य परिवारमा हुर्किएका ललित बाल्यकालदेखि नै क्रिकेट खेलमा अब्बलरहेको उनका बुवाले सुनाए ।‘यो सानो हुँदा खाली क्रिकेट खेल्न कहाँ जान्थ्यो–जान्थ्यो उसको साथीहरुले भन्थ्यो, ललित राम्रो खेलाडी हुन्छ भनेर’ उनी हाँस्दै सुनाउछन्, ‘हामीले केही गरेनौं, आफ्नै बल र मेहेनतले यहाँसम्म आइपुग्यो ।’
ललितकी आमा पनि छोराले खेलको माध्यमबाट देशको नाम चिनाउछ भन्ने कुरामा सपना झैँ लागेको बताउछिन् । उनी भन्छिन्,‘हामी गरिबलाई कहाँ सम्भव थियो र ? तर, मेरो छोराले सानैदेखि यो खेलमा धेरै मेहेनत गरेको छ ।’ स्कूलमा खाजा खान दिएको पैसा जोहो गरेर क्रिकेट खेलका लागि आवश्यक पर्ने सामाग्री खरिद गर्दै खेल क्षेत्रमा अगाडि बढेको ललितको क्रिकेट यात्राले एकदिन सफलतको गन्तव्य पछ्याउला भन्ने विश्वास उनको बुवाले कल्पना समेत गरेका थिएनन् । छोराको सफलतासँगै खुशी छाएको राजवंशी परिवारका लागि मात्रै नभएर यतिबेला कोशी प्रदेशका लागि क्रिकेटको क्षेत्रमा गर्विलो इतिहास बनेको छ ।
स्कूल पढ्दा क्रिकेट खेलेर समय खेर फालेको भन्दै उनको बुवाले गाली नगरेका पनि होइनन् । कहिलेकाँही क्रिकेट खेलेर पढाइ विग्रिएको भन्दै ललितले कुटाइ खाएको नमिठो सम्झनाका किस्सा सुनाउँदै उनका बुवा भन्छन्, ‘मैले छोरालाई पढाई विग्रियो भन्दै गाली पनि गरे, झापड पनि हाने । तर, उसले खेल्न छोडेन ।’ बुवाको गाली र झापडलाई ललितले मौन भएर टार्ने गरेको उनी सुनाउँछन् ।
त्यसो त ललितको धैर्यता, सहनशिलता र निरन्तरताले लक्ष्यमा पुग्न सफल भएको भन्दा कुनै दुइमत नुहने उनको नजिकका साथीहरु बताउछन् । छोराको खेल हेर्न ९ बजेदेखि काम छोडेर बसेको सुनाउने जयनारायण उनी आफ्नी श्रमती (ललितकी आमा) तर्फ हेर्दै नेपालको नाम राख्ने छोरा जन्माउने श्रीमती पाएकोमा आफू भाग्यशाली रहेको सुनाउछन् ।
‘छोराको खेल सुरु हुने दिन म सबै काम छोडेर क्रिकेट हेर्न बसे, छोराले खेल देखेर म मात्रै होइन, सारा परिवार खुशी भएका थियौँ’ उनी श्रीमतीतर्फ हेर्दै भन्छन्, ‘यसलाई हेर्छु म, देशको नाम रोसन गर्ने छोरा जन्माएको छ, मलाई अचम्म पनि लाग्छ र भाग्यशाली पनि लाग्छ ।’ विश्वकप खेल्ने क्वालिफायरका लागि छनौट भएका ललितसहितको नेपालको टिम विश्वकप खेल्नका लािग मैदानमा हेर्ने ठूलो धोको रहेको उनी सुनाउछन् ।
त्यसो त कतिपय नेपाली खेलाडीको आर्थिक सामाजिक अवस्था जोखिममा नपरेको पनि होइन नेपाललाई चिनाउने खेलाडीहरुलाई राज्यले विशेष ध्यान दिनुपर्ने समेत उनले बताए । क्रिकेट खेल केहो ? भन्ने जानकार भएदेखि यता खेल क्षेत्रमा यात्रा अगाडि बढाएका ललितले २०१४ देखि व्यवसायिकरुपमा क्रिकेट खेल्न सुरु गरेका थिए ।
२०१८ देखि नेपालको सिनियर टिममा डेब्यु गरेको बताउने उनले पहिलो खेलमा जिम्बावेसँगै जिम्बावेमै अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलको बताए । उनले नेपालसहित आफ्नो प्रदेशलाई देशभर निचाउन पाउदा खुशी लागेको बताए । आफू सम्मानित हुँदा धेरै खुशीको महसुस भएको बताउदै उनले भने,‘प्रदेशको खेलकुद महासंघले सम्मान गर्दा आउने पुस्ताहरुलाई पनि क्रिकेट
खेलमा आउनका लागि प्रेरणा मिल्छ जस्तो लागेको छ ।’
नेपाल खेलकुद महासंघ मोरङले मंगलबार सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य दिपेश कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको छ । उनीहरुलाई प्रदेश सरकार र विराटनगर महानगरपालिकाले समेत सम्मान गर्ने निर्णय गरेको छ ।दीपेशले युएईको यु–१९ टोलीविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई यु–१९ विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ललितले विश्वकप लिग–२ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।