विराट गोल्डकपको विजेताले २० लाख पाउने

विराटनगर । शहीद रंगशालामा चैत ९ गतेबाट हुने रात्रिकालिन विराट गोल्डकप फुटबल प्रतियोगिताको विजेताले २० लाख १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।

आयोजकले गत संस्करणमा १५ लाख १५ हजार रहेको पुरस्कार राशिमा ५ लाख थप गरेर २० लाख १५ हजार पुर्याएको हो ।

आयोजक विराट गोल्ड कप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार यस उपविजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । गत संस्करणमा उपविजेताले ७ लाख ५१ हजार प्राप्त गरेको थियो ।

यसपटक विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ, हरेक दिनको प्लेयर अफ दि म्याचलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिता हेर्न चाहने दर्शकका लागि टिकेटिङ पार्टनरको रुपमा ‘खल्ती एप’सँग साझेदारी गरेको आयोजकको भनाइ छ । खेल हेर्न आउने दर्शकले घरमै बसेर टिकट लिन सक्ने बानियाँले बताए ।

आयोजकले क्वाटरफाइनलसम्मको खेलका लागि प्रति टिकट २ सय रुपैयाँ निर्धारण गरेको छ भने सेमिफाइनल र फाइनल गरी ३ वटा खेलको लागि खल्ती एपबाट किन्दा ४ सय र रंगशालाकै स्टलबाट किन्दा ५ सय रुपैयाँ टिकटदर तोकिएको छ ।

आयोजकले प्रतियोगिता सम्पन्न गर्न २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्, प्रदेश सरकारका साथै विराटनगर महानगरपालिका र निजी क्षेत्रबाट आर्थिक सहयोग हुने आयोजकको अपेक्षा छ ।

विराट गोल्डकप नेपाली फुटबल प्रतियोगिताहरू मध्येको सर्वाधिक ठूलो र चर्चित फुटबल प्रतियोगिता हो । अखिल नेपाल फुटबल संघ एन्फाले यो प्रतियोगितालाई क्यालेन्डरमै समावेश गरेको छ । साथै प्रतियोगिताका लागि एन्फाको प्राविधिक सहयोग रहेको छ ।

नेपाली घरेलु फुटबल प्रतियोगिताको इतिहासमा काठमाडौं बाहिर विराटनगरको शहीद रंगशालामा रात्रीकालिन खेल यसअघि पनि आयोजना गरिएको थियो । २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूप परिवर्तन भएको थियो ।

चैत ९ गतेदेखि ९ दिनसम्म चल्ने प्रतियोगितामा ८ टिमले नकआउट प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालका तीन विभागीय क्लब एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जवालाखेल र घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लबले सहभागिता जनाउने भएका छन् । यस्तै भारतको लुका सकर र ड्ररुक लयुल फुटबल क्लब भुटान पनि प्रतियोगितामा सहभागी हुने भएका छन् ।

कोशी प्रदेशको नामाकरणसँगै अशान्त बनेको कारण विराटनगरमा आयोजना हुने विराट गोल्डकपमा सहभागी हुने बताएको दिल्ली एफसी भने सहभागी नहुने भएको आयोजकले जनाएको छ । दिल्ली एफसीले सुरक्षाको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको ट्रष्टका अध्यक्ष बानियाँले जानकारी दिए ।

सोमबार, ०६ चैत, २०७९, साँझको ०५:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर