काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेशले निर्माण सुरु गरेको चितवनको भरतपुर महानगरपालिका १५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अब अगाडि बढ्ने भएको छ ।
रकम अभाब भएको भन्दै फाउडेशनले काम रोकेपछि अलपत्र रहेको रंगशाला निर्माण गर्न भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर काम अगाडि बढाउने भएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मन्त्रिपरिषद्बाट निर्णय भएर फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा तिर्नुपर्ने रकम भुक्तान गरेपछि निर्माणको काम अगाडि बढ्ने जानकारी दिइन् । फाउन्डेसनले रंगशाला निर्माणमा खर्च भएको विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ ।
महानगर प्रमुख दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रंगशालाको काम अगाडि बढाउने तयारी छ । रंगशालको खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा समिति गठन गरी भुक्तान गर्नुपर्ने रकम र भएको काबारे अध्ययन गरिसकेको छ ।
तिर्नुपर्ने भुक्तानी तिरेर संघीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँउने तयारी गरेको प्रमुख दाहालले जानकारी दिएकी छन् । रंगशाला निर्माणका लागि पहल गर्ने तत्कालीन चितवन क्षेत्र नं ३ का सांसद प्रचण्ड अहिले प्रधानमन्त्री रहेकोले पनि काम अगाडि बढ्न लागेको हो ।
जिल्लामा रंगशाला स्थापनाकालदेखि नै उनको पहलकदमी रहेकाले यसलाई टुंगोमा पुर्याउन प्रधानमन्त्रीको चाहना रहेको छ । तिर्नुपर्ने भुक्तानीको टुंगो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालले बताएकी छन् ।
भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका नाममा लालपूर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा ६ कट्ठा जग्गा उपलब्ध गराएको थियो । विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच भएको सहमतिमा फाउडेशनले रंगशाला निर्माण सम्पन्न गर्ने वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ।
फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न जनाएको छ । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा ५७ करोड ९२ लाख खर्च भएको छ । त्यसमध्ये दाताबाट ३९ करोड ८० लाख उठेको
उनले जानकारी दिए ।
रकम तिर्न नसकेपछि २०७७ साउनदेखि रंगशाला निर्माणको काम रोकिएको छ ।