विराट गोल्डकप : पूर्वको रात्रिकालीन फुटबल उत्सव

विराटनगर । नेपालमा फुटबल प्रतियोगिता दिउँसोको समयमा हुन्छ। पूर्वाधार अभावका कारण रात्रिकालीन खेलकुदका लागि दशरथ रंगशालाको विकल्प छैन।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको दशरथ रंगशालामा समेत संचालनमा नहुँदा एक समय लगभग नेपालका रात्रिकालीन खेलकुद ठप्प जस्तै थियो।

पूर्वको औद्योगिक सहर विराटनगरले रात्रिकालीन खेलकुद आयोजना गर्ने जमर्को कस्यो विराट गोल्डकपलाई पुनर्जीवन दिएर। नेपालमा आयोजना हुने पुरानो प्रतियोगिता मध्येको एक महेन्द्र गोल्डकपको परिमार्जित रुपमा नै विराट गोल्डकप हो।

२०१८ सालमा तत्कालीन बडाहाकिम दामोदरशमशेरले राजा महेन्द्रको नाममा ‘श्री ५ महेन्द्र गोल्डकप’ स्थापना गरेका थिए। गणतन्त्रपछि प्रतियोगिताको नाम विराट गोल्डकप राखेर २०६८ सालबाट आयोनजा थालिएको थियो। तर उचित व्यवस्थापनको अभावमा निरन्तरता पाउन सकस थियो।

यसरी सुरु भयो रात्रिकालीन फुटबल

गर्मी मौसमका कारण दिवाकालीन फुटबल आयोजना गर्नु विराटनगरको लागि चुनौती थियो। अझ रात्रिकालीन फुटबल आयोजना गर्नु त सपना जस्तै नै थियो। विराटगरबासीहरुले गोल्डकप गर्ने जमर्को कसे। संयोजकको रुपमा उद्योगी नविन रिजाललाई अघि सारिएको थियो। रिजाल नेतृत्वको टिमलाई फुटबलमा नयाँ प्रयोग गर्ने हुटहुटीले विराट गोल्डकपको रात्रिकालीन संस्करणको जन्म भएको हो।

पहिलो संस्करणको रात्रिकालीन फुटबल सम्झँदै तत्कालीन संयोजक रिजाल भन्छन् ‘म संयोजक भएपछि सबैले नेपालमा फरक किसिमको गर्ने सोचेर बसेको थिएँ। दिउँसो किन गर्ने राति गर्दा के हुन्छ भनेर साथीभाईहरुसँग सल्लाह भयो। राति गर्ने सोच बनाइयो तर साधन केही थिएन। १ महिना मात्र बाँकी थियो प्रतियोगिता आयोजना गर्नका लागि एक सय फिटको स्टिलको पोल लगाउन आर्थिक समस्याका कारण सम्भव थिएन। १ सय फिटको बाँसको पोल लगाऊँ भन्ने सल्लाह भयो।’

रिजालले भने, ‘बाँसको पोल बनाउने सहमत भए पनि अड्याउन समस्या थियो। न हामीसँग इन्जिनियर थियो मुढे बलका भरमा अड्याइएको थियो। फर्ल्ड लाइटलाई हामीले हेलोजिन लाइट जस्तै सम्झिएका थियौ त्यस्तो नहुँदो रहेछ इन्टरनेटमा खोजि गर्दा पनि नेपालमा नपाइने रहेछ। विदेशबाट ल्याउनुपर्ने रहेछ।’

रिजाल नेतृत्वको गोल्डकप आयोजक टोलीले नेपालमा नपाउने भएपछि विदेशमा लाइट खोज्न सुरु गरे। विदेशमा पाउने भएपनि नेपालमा ल्याउन आर्थिक रुपमा निक्कै महँगो भएपछि भारतको दिल्लीदेखि दक्षिणका धेरै क्षेत्रमा खोजेपछि बल्ल लाइट ल्याउन सफल भएको रिजालको स्मरणमा ताजा नै छ।

‘भारतमा खोज्दा दिल्लीदेखि दक्षिण भारतसम्म सबै पसलमा खोज्दा कमसेकम केही लाइटको व्यवस्था गर्‍यौँ। लाइट मगाएर यहिको इलेक्टिसियनबाट जडान गरेर दुःखका साथ लगाएर गेम गरायौँ। कम्तीमा ३ सय लसमा गराउनुपर्ने हामीसँग प्रविधि शून्य थियो आफैँ अनुमान गर्दै इन्टरनेट लिएर आइडिया लिँदै काम गर्यौँ।’

उनले भने, ‘नेपालमा फर्ल्ड लाइट सम्बन्धी प्राविधिक ज्ञान भएको कोही पनि मानिसहरु थिएनन्। ८० देखि लिएर ३ सय सम्म पु¥यायौं लाइट नपुगेर हल्यान्ड देखि मगाएर खेल आयोजना गरेका थियौँ सबैले व्यवस्थापनको तारिफ गर्नुभयो।’ रिजालको टिमको अथक प्रयासपछि नेपाली औद्योगिक क्रान्तिको साक्षी विराटनगरका उद्योगी व्यवसायी र स्थानीय फुटबल प्रेमीहरुले मोफसलमा नयाँ प्रयोग स्वरुप रात्रीकालिन फुटबल २०७४ चैत्र १७ देखी २६ गतेसम्म सम्पन्न गरे।

पहिलो संस्करणको उपाधि भिडन्तमा थ्रीस्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै उपाधि जित्न सफल रहयो। तत्कालिन प्रदेश नं १ मा आयोजना भएको पहिलो रात्रीकालीन फुटबल भएकाले पनि दर्शकहरुको ठेलामठेल गर्दै पारापिटमा बसेका थिए।

विराटनगरबासीहरुको अपार मायापछि आयोजकलाई शहिद रंगशालामा स्थायी फर्ल्ड लाइटको व्यवस्था गर्न पाए विराटनगरलाई डे–नाइट स्पोर्टस सिटीको रुपमा विकास गर्न सकिन्छ भन्ने सोच पलाएको रिजाल बताउँछन्। प्रतियोगिताको उदघाटनमा मुख्य मन्त्री शेरधन राई र तत्कालिन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतलाई आयोजकले स्थायी फर्ल्ड लाइटको माग राखे।

‘मुख्यमन्त्रीलाई स्थायी फर्ल्ड लाइटको व्यवस्था गरिदिनुहुन माग गरेका थियौँ उहाँले पनि हुन्छ नि भन्नुभयो तर नेताको भरोसा लागेन के गर्छन् के गर्छन् भन्ने त्यसपछि मेयर भीम पराजुली र सामाजिक विकास मन्त्री जीवन घिमिरे उपस्थित कार्यक्रममा २५ हजार पब्लिकका अगाडी घोषणा गर्नुस भनेपछि उद्धघाटनको दिन ५० लाख दिन्छु १ करोड दिन्छु यसरी घोषणा गर्नुभएको थियो।’

रिजालले भने ‘जनताको सामुन्ने कबुलेपछि १÷२ बर्षसम्म निरन्तर फलोअप गरेर बल्ल बल्ल उहाँहरुले बजेट पास गरेपछि टेन्डर निकालेर फर्ल्ड लाइट स्थापना गरेको हो। ५ करोड रुपैयाको लागतमा स्थापना गरिएको फर्ल्ड लाइट अहिले ४–५ सय लसको रहेको छ।’

विराटनगरवासीको लागि उत्सव

मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश सरकारले ५ करोडको लागतमा शहिद मैदानमा फर्ल्ड लाइटको व्यवस्था गरेपछि आजकाल ढुक्क छन् विराटनगरबासी। गर्मीका कारण दिउसो हुने प्रतियोगिता रुचनाएका बिराटनगरबासीहरु आजकाल विराट गोल्डकप पर्खिएर बस्छन्। अझ भनौँ विराटनगरवासीहरुको लागि अर्को दशैँ नै विराट गोल्डकप हो।

घरानियाहरु मात्र होइन दिनभर मजदुरी गर्ने मजदुरहरुको चासोसमेत विराट गोल्डकप भन्ने बुझेका छन् एन्फाका सहायक महासचिव वसन्त अर्यालले भने, ‘पहिला महेन्द्र गोल्डकप हुँदा बखत नै विराटनगरमा फुटबलको चार्म थियो। बिचको समयमा टेलिभिजनको विकास भएपछि केही कम भएको थियो। तर अहिले रात्रिकालीन फुटबल सुरु गरेपछि दर्शक धान्ने गाह्रो छ। वार्षिक रुपमा नै आयोजना होस् भन्ने विराटनगरबासीहरुको चाहना छ।’

उनले भने, ‘घरानियाहरुको मात्र होइन् मजदुरहरु समेत प्रतियोगिता कहिले हुन्छ भन्ने चासो व्यक्त गरिरहन्छन्।’ विराटनगरमा २०७५ चैत्रमा नेपालले पहिलो पटक महिला साफको पाँचौ संस्करण विराटनगरको शहिद रंगशाला सम्पन्न गर्यो। पहिलो पटक काठमाण्डौ बाहिर महिलाको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना भए पनि पुर्वेली दर्शकहरुले खासै रुचाएनन्। तर विराट गोल्डकप पुर्वमा रात्रिकालीन फुटबलमा दर्शकहरु आर्कषित छन् भन्ने देखाएको छ। रात्रिकालीन फुटबलको माध्यमबाट विराटनगर चिनाउने चाहना बोकेको विराट गोल्डकप सफल बनाउन विराटनगरबासीहरु एकजुट भएका छन्।

पूर्वाधार निर्माण अन्तिम चरणमा

यस संस्करणमा नगर प्रमुख नागेश कोइरालालाई प्रतियोगिता संयोजकको रुपमा अघि सारिएको छ। कोइरालाको टिमले चैत्र ९ गते देखि नेपाल र भारतका ८ टोली बिचको खेललाई सौहार्दपुर्ण सम्पन्न गर्ने जमर्को गरेको छ।

प्रतियोगितालाई सफल बनाउन आयोजकले ऐतिहासिक महेन्द्र गोल्डकपको ट्रफी अहिले विद्यार्थी र युवाहरु माझमा प्रर्दशनी गर्दै आएको छ। विराट गोल्डकपका प्रमुख कार्यकारी अधिकृत सुवाशीस कोइराला युवाहरुलाई आकर्षित गर्दै प्रतियोगिता सम्पन्न गर्नेमा ढुक्क छन्।

दर्शकहरु मात्र नभएर खेलाडीहरु पनि विराट गोल्डकपमा सहभागि हुन पाउनुमा गर्व महसुस हुने गरेको आफ्नो बुझाई रहेको सिइओ कोइराला बताउँछन् ‘दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल, ए डिभिजन लिग र एनएलएल बाहेक एक मात्र नियमित रात्रिकालीन फुटबल विराट गोल्डकप नै हो।’ उनले भने, ‘सुरक्षाका लागि रेलिङहरु ग्रिलको बनाएका छौ। सुरक्षासंगै रंगशालामा समेत सिंगारिएको छ। स्थायी संरचना पनि छ। पुरानो भएकाले प्यारापिटलाई ममर्त गरेका छौँ।’

आयोजकले प्रचारपसारलाई समेत तिव्रता दिएको छ। युवाहरुलाई लक्षित गरेर सामाजिक सञ्जाल र अनलाइन गेमिङमा समेत विराट गोल्डकपको प्रचारात्मक सामाग्रीहरु समावेश गरिएको छ।

‘सोसल मिडियामा शैक्षिक र प्रमोसनल भिडियोहरु बनाएर प्रचार गरिरहेका छौँ। इस्पोर्टस पब्जि लगायतका खेलमा समेत विराट गोल्डकपको सामाग्री देख्न सकिन्छ।’ कोइरालाले भने, ‘रेस्टुरेन्डमा एलइडी बोर्डहरुमा विराट गोल्डकप झल्काउने सामाग्रीहरु छन्। अझ भनौ विराट गोल्डकपलाई धेरै प्रचार पनि गरिरहनु नपर्ने रहेछ हिजो महेन्द्र गोल्डकप हुँदा देखि नै विराटनगरबासीहरुको अपार मायाकै कारण करिब ६ दशकसम्म जिवित नै छ।’

शहिद मैदानको क्षमता ६ हजार ५ सय हो। रंगशाला आउन नसक्ने दर्शकहरुलाई लक्षित गरेर आयोजक विराट गोल्डकप फुटबल ट्रस्टले प्रत्यक्ष प्रसारणको समेत व्यवस्था गरेको छ। रात्रिकालीन समयमा घरबाट फुटबल हेर्न सक्ने व्यवस्था रहेको सिइओ कोइरालाले बताए। उनले प्रत्यक्ष प्रसारणका लागि गुणस्तरिय क्यामरा जडान हुने बताए। अहिले शहीद रंगशाला मर्मतको काम अन्तिम चरणमा पुगेको छ।

सहभागी टोली तय

प्रतियोगिताको सहभागी टोली समेत आयोजकले टुङ्गो लगाइसकेका छन्। चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब एपीएफसहित विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस सहभागी हुँदैछन्।

ए डिभिजन खेलिरहेका संकटा क्लब र जावलाखेल युथ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउनेछ। भारतमा जारी आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने छन्। घरेलु टोलीको रुपमा एनएसएल क्लब विराटनगर सिटी हुनेछ।

यस सिजनमा पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ। यदपि, पुरस्कार रकम बारे कोइरालाले खुलाएनन्। गत संस्करणको उपाधि विजेता एपिएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो। यसैगरी उप विजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो।

यस सिजन विजेताले कम्तीमा २० लाख र उप विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ।

यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुनेछ।

– थाहा खबरबाट साभार

सोमबार, ०६ चैत, २०७९, बिहानको ११:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर