विराटनगर । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउने राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई संघीय सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि आफ्नो प्रदेशबाट राष्ट्रिय टिममा परेका खेलाडीलाई जनही दुई लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ । यस्तै मधेश प्रदेश सरकार र वाग्मती प्रदेश सरकारले पनि आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेका छन् ।
तर, कोशी प्रदेशले भने अहिलेसम्म आफ्नो प्रदेशबाट राष्ट्रिय क्रिकेट टिममा रहेका खेलाडीलाई पुरस्कृत गर्ने वा सम्मान गर्ने विषयमा औपचारिक कुनै निर्णय गरेको छैन । प्रदेश सरकारको खेलकुद क्षेत्र हेर्ने मन्त्रालय सामाजिक विकास मन्त्रालयका मन्त्री बुद्धिकुमार राजभण्डारीलाई त क्रिकेट टिममा कोशी प्रदेशका खेलाडी रहेको पनि जानकारी छैन ।
‘टिममा हाम्रो प्रदेशका पनि खेलाडी छन् र ?’ खेलाडी सम्मानबारे प्रदेश सरकारको तयारी के छ भनि सोधिएको प्रश्नमा आश्चार्य व्यक्त गर्दै उनले भने, ‘हाम्रो प्रदेशका खेलाडी रहेको त मलाई जानकारी नै छैन । उनले प्रदेशका खेलाडी पनि टिममा रहेको भए आवश्यक सल्लाह गरेर निर्णय गर्ने बताए ।
प्रतियोगितामा विराटनगरका ललित राजवंशीले उत्कृष्ट बलिङ गरेका थिए । उनी कोशी प्रदेशस्थित विराटनगर–१४ का हुन् । यस्तै केही दिन अगाडि अण्डर १९ क्वालिफाइड खेलमा सहभागी हुने दिपेश कँडेल पनि विराटनगरकै हुन् ।
कोशी प्रदेश सरकारका प्रवक्ता तथा कृषिमन्त्री भक्तिप्रसाद सिटौलाले मुख्यमन्त्रीसहित मन्त्रीको टोली काठमाडौंमा रहेको कारण क्रिकेट खेलाडिको विषयमा निर्णय हुन नसकेको बताए । ‘हाम्रो प्रदेशबाट २ जना हुनुहुन्छ भन्ने सुनेको छु । उहाँहरुलाई सम्मान गर्नुपर्छ,’ सिटौलाले भने, ‘प्रदेश सरकारले केही न केही सम्मान गर्छ । यस विषयमा मुख्यमन्त्रीज्यूसँग सल्लाह गरेर निर्णय गर्छौं ।’
Pro.1 sarkar le samman grnu parxa 2 janai Kheladi lai 🤝👍❤