विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्ड कपको सेमिफाइनलमा सहलेस युवा क्लब सिराहा पुगेको छ ।
मिल्स गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले हराउँदै सहलेस युवा क्लब सिराहा सेमिफाइनलमा पुगेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो सडनडेथबाट भएको थियो । टाई ब्रेकरमा पनि बराबरीपछि खेल सडनडेथमा धकेलिएको थियो ।
जितको लागि सिराहाका यानिक, नवीन न्यौपाने, डेनियल, स्यानगियो, निश्चल ठकुरी र दिपसन राईले गोल गरेका थिए । सिराहाका निश्चल लामाको प्रहार साइनोका गोलकिपर प्रज्वल श्रेष्ठले उत्कृष्ट बचाए । फोफोनाको प्रहार बाहिरियो ।
साइनको तर्फबाट असीम राई, सन्जय धिमाल, सागर खड्का, कोमल खवास र सुमन मगरले गोल गरेका थिए । साइनको सागर विक, दोर्जे तामाङ र विदेश मगरको प्रहार सिराहाका गोलकिपर सागर मगरले उत्कृष्ट सेभ गरिदिएर टिमलाई सेमिफाइनलमा पुर्याए । उनै गोलकिपर मगर खेलको म्यान अफ द म्याच घोषित भए ।
घरेलु दर्शकको साथ पाएको साइनोले खेल सुरु भएको एक मिनेटमै सन्जय धिमालले गोल गरे । खेल सुरु भएको एक मिनेटमै गोल भएपछि सिराहा दबाब परेको थियो ।
पहिलो गोल खाएपछि सिराहाले आक्रामक शैली अपनाएको १८ औँ मिनेटमा विदेशी खेलाडी यानिकले गोल गरेपछि खेल बराबरीमा ल्याए । सिराहाका सुदिप मगरले निकालिदिएको क्रस पासलाई यानिकले डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
चार जना विदेशी खेलाडी लिएर मैदान उत्रिएको सिराहाले पहिलो हाफमा यानिकले आधा दर्जन गोल गर्ने अवसर चुकाए । ३८ औँ मिनेटमा पेलान्टि एरियादेखि यानिकको प्रहार बाहिरिँदा पहिलो हाफमा दोब्बर पार्ने अवसर गुमाएको थियो ।
दोस्रो हाफदेखि सिराहाले आक्रामक खेल पस्कियो । अन्त्यतिर सिराहाका यानिकले प्रहार गरेको बलमा पोस्ट बाधक बनेपछि जित हात पार्न सडनडेथ कुर्नुपर्यो ।।
मङ्गलवारको खेल गाईघाट फुटबल क्लब उदयपुर र वीरगन्ज युनाईटेड फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।