नेपाललाई अर्को सफलता, पिएनजी ५२ रनले पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो ।

पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् । नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि नेपालको उच्च स्कोर २८७ रन थियो।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तित सिरिज हो। यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये दुई खेल जिते नेपालको लिग-२ बाटै एकदिवसीय मान्यता जोगिनेछ। चारै खेलमा हात पारे नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

सिरिजमा नेपालले अब फागुन २८ मा  युएई,  फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ।

पाँचौ स्थानको नेपालले ३३ खेलबाट ३५ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। पुछारको ‍पिएनजीको ३३ खेलबाट ९ अंक छ।

बिहिबार, २५ फागुन, २०७९, दिउँसोको ०४:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर