लोड हुँदैछ...

मेनु

खाद्यपूरक सामाग्रीको तस्करी बढ्यो

खाद्यपूरक सामाग्रीको तस्करी बढ्यो

विराटनगर । भारतबाट तस्करी भएर आएको खाद्यपूरक सामाग्री मोरङ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीले विराटनगर – १६ स्थित उखु बारी नजिकबाट खाद्यपूरक सामाग्री बरामद गरेको हो ।

प्रहरीले ८ लाख ४६ हजार ७२० रुपैयाँको अवैध खाद्यपूरक सामाग्री बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीले बताए ।
अवैध रूपमा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याएको ग्लोबल गेल, लाइफटेन नामकको खाद्यपूरक सामाग्री बरामद गरेको हो ।

बिरामीलाई आर्थिक रूपमा भार पर्ने खाद्यपूरक सामाग्रीको तस्करी पछिल्लो समय व्यापक रूपमा हुने गरेको पाइएको छ । भारतीय बजारबाट तस्करी भएर आएका खाद्यपूरक सामाग्रीको व्यापक रूपमा विराटनगर हुँदै पूर्वी सहरमा जाने गरेको पाइएको हो ।भारतमा किलो हिसाबले खाद्यपुर सामाग्री ल्याउने र यहाँ औषधीभन्दै फार्मेसीहरूबाट बिक्री वितरण हुने गरेको छ । यसरी फार्मेसीबाट खाद्यपूरक सामाग्री बिक्री वितरणमा औषधी व्यवस्था विभागले तीन वर्ष अगाडी प्रतिबन्ध लगाएको छ । तर, तस्करी गर्न पल्किएका केही औषधीको थोक बिक्रेता संचालकहरुले भरिया प्रयोग गरी खाद्यपूरक सामाग्री किलोको हिसाबले ल्याउने र यहाँ ल्याएपछि प्रति पिस हिसाबले औषधी भन्दै बिक्री वितरण गर्ने गरेको छ ।

भारतमा किलोको हिसाबले जोखेर पाइने खाद्यपूरक सामाग्री नेपालमा ल्याएपछि ३ सयदेखि पाँच सय रुपैयाँसम्म पत्ताको हिसाबले औषधी भन्दै विक्री वितरण गर्ने गरेको पाइएको हो ।

फार्मेसी पसलमा बिक्री वितरणमा प्रतिबन्ध लगाएको खाद्यपूरक सामाग्री विराटनगरसहित पूर्वी सहरमा खुलेआम बिक्री वितरण हुने गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले डिपार्टमेन्ट स्टोरमा बिक्रीको लागि अनुमति पाएको खाद्यपूरक यहाँ खुलेआम औषधी पसलमा बिक्री हुने गरेको छ । नियमकारी निकाय औषधी व्यवस्था विभागले बेलाबखत अनुगमन गरे पनि पछिल्लो समय बजार अनुगमन गर्न छोडेपछि अहिले विराटनगरको ठुलो हस्पिटल नजिकको फार्मेसीहरूले खाद्यपूरक सामाग्रीको बिक्री वितरण खुलेआम गर्ने गरेका छन् । यसरी औषधी पसलले खुलेआम खाद्यपूरक सामाग्री बिक्री वितरण गरे पनि कोशी प्रदेशसहित मधेस प्रदेशको अनुगमन र निरीक्षण गर्ने जिम्मेवारी पाएको औषधी व्यवस्था विभाग विराटनगर मौन बस्ने गरेको छ ।

नियमक निकाय औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले फार्मेसीहरूले खाद्यपूरक सामाग्री बिक्री वितरणमा राखेको पाइए बरामद गरी कारबाहीको प्रक्रिया लैजाने गरेको बताए । ‘हामीलाई सूचना आएसम्म फार्मेसीमा बिक्री वितरणमा राखेको खाद्यपूरक सामग्री अनुगमन गरी बरामद गर्दै कारबाहीको प्रक्रियामा ल्याउने गरेका छौँ,’ उनले भने । यसअघि पनि विभागले सात महिनामा २९ वटा फार्मेसीले औषधी भन्दै बिक्री गर्न राखेको ठुलो परिमाणमा खाद्यपूरक सामाग्री नियन्त्रणमा लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।