सम्पादकीय

सुधारको सकारात्मक पहल

विराटनगर महानगरपालिकाले पछिल्ला दिनमा केही सकारात्मक सुधारको पहल बढाएको छ । लामो समयदेखि उस्तै गति र एकै व्यक्तिबाट शाखा, महाशाखा तथा विभागहरु चलाउँदा नगरबासीले सुधारको अनुभूति गर्न पाएका थिएनन् । महानगरका प्रमुख प्रशासकीय अधिकृतले पछिल्लो समय कर्मचारीहरुको व्यापक सरुवा गरी विगतको भन्दा फरक फरक जिम्मेवारी दिएपछि कतिपय क्षेत्रको नतिजामा सकारात्मक सुधार देखिएको छ ।

नयाँ जिम्मेवारी सम्हालेका कर्मचारीहरुले आफ्नो क्षमता देखाउनु पर्ने चुनौती सामना गरेका कारण पनि विभिन्न क्षेत्रमा सुधार देखापरेको हो । विशेष गरी महानगरको राजश्व तर्फ राम्रो सुधार देखिएको छ । आर्थिक मन्दीका कारण अधिकांश आथिएक क्षेत्र प्रभावित भइरहेको बेला विराटनगर महानगरपालिकाले ७ महिनाको समान अवधिमा ३ करोड १७ लाख रुपैयाँ बढी राजश्व संकलन गरेको छ । पछिल्लो मन्दिको प्रभाव सबैतिर देखापरेको अवस्थामा महानगरले गरेको राजश्व संकलनलाई सकारात्मक रुपमा लिनुपर्छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को माघ १४ गतेसम्म २९ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गरेकोमा चालु आर्थिक वर्ष २०७९/८० को माघ १४ गते आइतबार अपरान्हसम्म ३२ करोड ६७ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरिसकेको थियो ।

विराटनगर महानगरपालिकाले अरु केही क्षेत्रमा पनि सुधार गरेको पाइएको छ । विशेष गरेर महानगर पछिल्लो समय पार्किङ व्यवस्थापन गर्न सफल देखिएको छ । महानगरका प्रमुख नागेश कोइरालाले बढ्दो सवारी चापलाई व्यवस्थापन गर्दै बजार क्षेत्रमा हुने भीड घटाउन जथाभावी पार्किङ गर्न नदिने नीति अगाडि सारेपछि दुई महिनाको मिहेनतमा उक्त प्रयत्न सफलतामा परिणत भएको छ । यसलाई निरन्तरता दिने चुनौती भने महानगरसँग कायम छ । महानगरले ट्राफिक प्रहरीसँगको सहकार्य गरेर सडक किनारामा पार्किङ गर्न नदिने अभियान सञ्चालन गर्दा बजार क्षेत्र खुला भएको छ ।

यसैगरी महानगरले सफलता पाएको अर्को क्षेत्र हो सरसफाइ । सफाइको समस्या जटिल भएपनि केही महिना यता नागरिकबाट गुनासो आउने दर घटेको छ । समयमा फोहर नउठ्ने, सडक गल्ली तथा घरहरुबाट फोहोर संकलन नहुने समस्या पछिल्लो समय समाधान भएको छ । महानगरपालिकाले वातावरण शाखाको नेतृत्व परिवर्तन गरेसँगै सुधार आएको हो ।

महानगरपालिकाले केही क्षेत्रमा सुधार गरेको छ तर अझ त्यस्ता धेरै क्षेत्र छन् जहाँ सुधारका लागि निकै काम गर्न आवश्यक छ । महानगरको योजना, घरनक्सा, स्वास्थ्य, शिक्षा, कृषि, लेखा आदि शाखा महाशाखाको कामलाई अझ बढी व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ । उल्लेख गरिएका क्षेत्रमा सुधारको नतिजा निकाल्न सक्दा नागरिकले महानगरमा वास्तवमै परिवर्तन आएको अनुभूत गर्न सक्नेछन् ।

महानगरभित्र नीतिगत तथा नियतवस भ्रष्टाचारजन्य गतिविधि हुने गरेका छन् । अन्य क्षेत्रबाट सुधारको प्रक्रिया आरम्भ गरेको वर्तमान नेतृत्वले त्यसलाई न्यूनीकरण र नियन्त्रण गर्ने तर्फ पनि विशेष योजना बनाउन आवश्यक छ । त्यसो गर्न सकेमा अहिले देखिएको परिवर्तन र सुधारलाई दिगो बनाउन सम्भव छ ।

फाल्गुन १६, २०७९, बिहानको ०८:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर