विराटनगर । नेपाललाई कृषिप्रधान देश भनेर चिन्ने गरिन्छ तर कतिपय क्षेत्रका किसानले ६ महिनालाई पुग्ने खाद्यान्न समेत उत्पादन गर्न सक्दैनन् ।
कृषिप्रधान देशमै हरेक वर्ष अर्बौंको खाद्यान्न विदेशबाट आयात गर्नुपरेको छ । कृषिमा लागेका किसानले पनि भण्डारण, बजारीकरण लगायतका समस्या भोग्दै आएका छन् । तर, सोलुखुम्बुका किसान धोमी शेर्पाले घरमै कोल्ड स्टोर निर्माण गरेका छन् । उत्पादन गरेका फलफूल उनले काठमाडौंका बजारमा बेच्ने गरेका छन् ।
सोलुखुम्बुमै स्याउ तथा किवी खेती गर्ने पहिलो किसानका रूपमा चिनिएका छन् धोमी । १ नम्बर प्रदेशका हिमाली जिल्लामा पछिल्लो समय मौसम परिवर्तनका कारण स्याउको खेती घट्दो क्रममा छ । खेतीका लागि प्रोत्साहन गर्ने सरकारी निकायले पनि किसानलाई स्याउ खेती नगर्न सुझाव नै दिन थालेका छन् ।
जलवायु परिवर्तनका कारण उत्पादनमा गिरावट तथा स्वादसमेत फरक पर्न थालेपछि कृषकहरू स्याउको विकल्प खोज्न थालेका छन् । स्याउको विकल्पमा किवी खेती गर्न थालेका छन् किसान । स्याउ मासेर १० वर्षदेखि उनले किवी खेती थालेका छन् । स्याउले बजार पाउन छाडेपछि स्याउको बगान मासेर किवी खेती थालेको उनले बताए । मदन भण्डारी राजमार्गका कारण प्रदेश राजधानीभन्दा संघीय राजधानी काठमाडौं पुग्न सहज बन्ने गरेको छ । सोलुखुम्बुका किसानले उत्पादन गरेका वस्तुको बजार काठमाडौं हो । बुवा ज्याङ्वो शेर्पाले १५ रोपनीमा स्याउ खेती गरेका थिए तर स्याउ मासिएपछि ३५ रोपनीमा किवी खेती गरेका छन् । आरु, स्याउ हुँदै धोमीको परिवार किवी खेतीमा पुगेको छ । उनको परिवारले असारमा आरु उत्पादन गर्थ्यो भने साउनदेखि स्याउ उत्पादन गर्ने गरेको थियो ।
बेमौसमी बजारको खोजी गर्ने शेर्पाको परिवारले अहिले घरमै कोल्ड स्टोर बनाएको छ । ‘कुलवोट’ अमेरिकन प्रविधिमार्फत घरमै स्टोर बनाएर भण्डारण गर्ने गरिएको उनले बताए । वार्षिक १० हजार टनभन्दा बढी किवी उत्पादन गर्ने गरिएको छ । नेपालमा १२०० मिटरदेखि माथि २४०० मिटरसम्मको उचाइलाई किवी फलको खेतीका लागि उचित मानिन्छ । वार्षिक वर्षा १५०० देखि २००० मिलिमिटर र ७६ देखि ७८ प्रतिशत सापेक्षिक आर्द्रता किवी खेतीका लागि उपयुक्त हुने गरेको कृषि प्राविधिकहरू बताउँछन् ।
पर्यटन व्यवसायी समेत रहेका शेर्पा सरकारले सहजरूपमा वाइन बनाउन दिए विदेश निर्यात गर्ने बताउँछन् । घरमा वाइन बनाएर कोेसेलीका रूपमा बेच्ने गरेका उनले सरकारले सहज रूपमा उत्पादन गर्ने वातावरण बनाइदिनुपर्ने उनी बताउँछन् । युरोपका ५ वटाभन्दा बढी देशमा गएर पर्यटकलाई नेपालका विभिन्न जिल्लामा ल्याई घुमाएका धोमीले सरकारले कृषिमा अनुदान मात्रै दिने तर त्यसको अनुगमन नगर्ने गरेकाले पनि अनुदानमुखी कृषि भएको बताउँछन् । किवीको वाइन बनाउन सरकारले अन्यभन्दा ४ गुना बढी राजस्व लिने गरेको उनले बताए ।
विदेशबाट निर्यात हुने रक्सी रोक्न सकिने पनि उनको अनुभव छ । नेपालमा भारत, अमेरिका, मेक्सिको, इटली, फ्रान्स, नेदरल्यान्ड, अस्ट्रेलिया लगायत विभिन्न देशबाट मदिरा आयात हुँदै आएको छ तर यिनै देशमा नेपालबाट पठाउन सकिने उनी बताउँछन् । ‘नेपालमा विदेशी पर्यटक आउँदा हामीले उत्पादन गरेका खानेकुरामा मोहित हुन्छन् तर राज्यमा बस्नेले निर्यात गर्ने कुरामा ध्यान दिँदैनन्,’ उनले भने, ‘उत्पादन गरेको वाइन काठमाडौं लगेर बेच्न पनि समस्या हुने गरेको छ ।’
हेवार्ड, एलिसन, मन्टी, ब्रुनो, रेड, मिनि र गोल्डेन जातका किवीहरू उनका बगानमा छन् । वार्षिक खर्च कटाएर १० लाखभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए । किवी फलमा मानव शरीर स्वस्थ रहनका लागि अति उपयोगी खाद्य तत्व धेरै परिमाणमा रहेको उनले बताए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।