पाँचथर । पूर्वी पहाडको नगदेबाली अलैंचीको मुल्यमा अहिले केही सुधार हुँदै गएको छ ।गत साल ५० हजारबाट २३ हजारमा झरेको अलैंचीको मुल्य अहिले एक नम्बर अलैंची ३७ हजार पुग्दा अलैंची किसान आशावादी भएका छन् ।
कुनै बेला १ लाख १५ हजारसम्म मुल्य पाएका किसान तथा व्यवसायी धेरै लामो समय मूल्य ओरालो लाग्दा चिन्तित भएका थिए । ओरालो लागेको अलैंची फर्किने हो होइन दोधारमा भएको बेला बिस्तारै अलैंचीको मुल्य उकालो लाग्दा अलैंचीमै आश्रित कृषकमा आशा उदाएको देखिन्छ ।
पाँचथर फिदिम नगरपालिका ७ रानीटारका प्रताप तामाङको यस बर्ष ३० मन अलंैची फल्यो, असोजमै टिपेको अलैंची लागत नै नउठ्ने भएपछि घरमै थन्काएका थिए । तामाङले भने– ‘तर अहिले केही आशा पलाएको छ’ । उनले ८ बर्ष अगाडि १ लाख १५ हजारमा अलैंची बेचेका थिए । त्यसको तुलनामा त अहिलेको मूल्य नभए पनि गत वर्षको तुलनामा अहिले मूल्य पाएको उनी बताउँछन् ।
उनले ३० मन अलैँची ३० हजार प्रतिमनले बेचेका छन् । मूल्य अझै बढ्ने आश हुँदै गर्दा पनि अलैंची बेच्नुपर्ने बाध्यता उनको छ । देशमा बढ्दै गएको आर्थिक मन्दी र खाद्यान्नमा बढेको मूल्यका कारण घरव्यवहार चलाउन खर्च चाहिएका कारण अलैंचीले लागत उठाउला जस्तो भएपछि उनले अलैंची बेचिहालेका हुन् ।
त्यस्तै पाँचथर कुम्मायक गाउँपालिका माङ्जाबुङका युवराज शेर्माले पनि अलैंचीको मूल्य बढ्ने बित्तिकै अलैंची बेचिहालेको बताए । १२ देखि १५ मन अलैंची फलाउन ५ सय जना बराबरको खेताला लाग्छ । धेरै समय सम्म गोदाममा अलैंची राख्दा ढुसी पर्ने हुँदा एक नम्बर अलैंचीको मूल्य पाइँदैन । २१ मन अलैंची २८ हजारले र २० मन अलैंची ३३ हजारले बेचेको उनी बताउँछन् । भन्छन ‘पहिलाको मूल्यको तुलनामा अहिलेको मूल्य त केही होइन तर यतिमा बेच्दा लागत उठेको छ ।’
भाउ उकालो लाग्दै गर्दा केही आशा पलाएको व्यापारी पनि बताउँछन् । गत बर्ष २०७८ मंसिरमा ५० हजारमा किनेको अलैंचीको मुल्य निरन्तर ओरालो लागेर २३ हजार पुग्दा व्यवसायीहरु अलैंची गोदाममा थन्काउन बाध्य भएका थिए । उल्लेख्य मूल्य वृद्धि नभए पनि उकालो लाग्दै गरेको मूल्यले आशा भने जगाएको नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रकाश नेपाल बताउँछन् ।
नेपालमा उत्पादन हुने मसला बालीमध्ये सबैभन्दा बढी मूल्य पर्ने र धेरै निर्यात हुने कृषिबालीको सूचीमा अलैंची पर्दछ । अलैंची नेपालबाट निर्यात मात्र हुने तर आयात भने नगरिने एक मात्र कृषिबस्तु हो ।
नेपालमा यसको खपत ५ प्रतिशतमात्र हुन्छ भने भारत लगायतका देशमा ९५ प्रतिशत निर्यात हुने गर्छ । वार्षिक ५ मेट्रीक टन उत्पादन हुने अलैंची मूल्य नपाएका कारण लामो समय स्टकमा रहेको कारण यसबर्ष अलि बढी निर्यात हुन सक्ने नेपाल अलैंची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले बताएका छन् । यसबर्ष ४२ सय ५० टन निर्यात हुँदा सरदर ४ अर्व रुपैयाँ नेपाल भित्रिएको छ ।



























3 प्रतिक्रियाहरू
3 प्रतिक्रियाहरू
नियमित मुल्य सुची हेर्न पाए हुनेथियो
मुल्या निर्धारण गरेर किसान लाई जान्कारी दिनु भए उत्त्म हुन्छ।
Yasko price ramro hunuparcha