विराटनगर । भारतीय भन्सार विभागले बिहार अररियास्थित मीरगन्ज पुल नेपालीका लागि पूर्ण रुपमा खुला गरेको छ । विभागले चारलेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की पुल बनेपछि भारतीय पक्षले एक बर्ष पछि सुचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको हो ।
मोरंग ब्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल संचालन गर्न दिइएको दवावको कारण दुई महिना अघिबाट नै पुल अनौपचारिक रुपमा संचालनमा आएको थियो । तर, नेपालतर्फ भित्रने मालवाहक साधनहरु भण्टाबारी नाकाबाटै आउने गरेका थिए । फर्कदा मात्रै पुल प्रयोगको अनुमति थियो । गत साता सूचना जारी गरेर विभागले अब मालबाहक साधन आवतजावतको अनुमति दिएको हो ।यो अनुमतिले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आउने कच्चा पदार्थ लगायतको सामाग्री बोकेका मालवाहक साधनहरु ११६ किलोमिटर दुरी पार गर्दै सुनसरीको भण्टावारी नाकाबाट घुमेर आउनु पर्ने झन्झट अन्त्य भएको छ । अब ४ किलोमिटर दुरी पार गर्नासाथ नेपालको आइसीपी आइपुग्ने सुविधा प्राप्त भएको छ ।
भारतको पटना स्थत कष्टम विभागले सुचना जारी गरी नयाँ मीरगञ्ज पुल संचालनमा आएको र त्यसबाट मालवाहक आवत जावत गर्ने अनुमति दिइएको जनाएको छ । यसअघि भारतका जोगवनीस्थित ल्याण्ड कष्टम र आइसीपी बिच समन्वय हुन नसक्दा आंशिक रुपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो । कष्टम विभागले नै सुचना जारी गरेपछि अब तेश्रो मुलुकबाट आउने र जाने सामानका लागि भण्टावारी नाका पुग्नु नपर्ने भएको छ । विभागले आफ्ना मातहतका सबै निकायलाई बोधार्थ दिँदै सुचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । सूचनासंगै विराटनगरको आइसीपीबाटै आयात र निर्यात औपचारिक सुरुआत भएको छ ।
मोरंग व्यापार संघको पटक पटक नेपाल र भारतीय अधिकारीलाई पुल संचालनका लागि गरिएको आग्रह अनुसार अनौपचारिक रुपमा दुई महिनायता पुल संचालनमा आएको थियो। पुल संचालनमा आएपनि भारत र नेपालका लागि मात्र कार्गो आउने जाने गर्दथे । तेश्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टावारी नाका नै प्रयोग हुँदै आएको थियो। भारतको कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल हुँदै आवत जावत खुलेको जनाएका हुन्।
पुल पूर्ण रुपमा संचालनमा आएपछि अहिले दैनिक दुई सय सम्म मालवाहक सवारी साधान भारतीय कष्टम हुँदै विराटनगर आइसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । एउटा मालवाहक सवारी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु परिरहेको आयातकर्ताको भनाइ थियो । मीरगञ्ज पुल भासिँदा एक बर्षमा २२ अर्ब ५० करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको थियो।
जोगवनी नाकाबाट मालवाहक जान नसकेपछि सुनसरीको भण्टावारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए । जसको कारण एक बर्षमा व्यवसायीहरुले ११ करोड ५२ लाखको बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् ।
मोरंग व्यापार संघमा निर्वाचित भएपछि आफूले मीरगञ्ज पुल संचालन गराएर नै छाड्ने प्रतिबद्धता लिएका अध्यक्ष नवीन रिजालले आफ्नो कार्य समितिको सम्पूर्ण टिम नै पुल संचालन गर्नका लागि परिचालन गरेका थिए । भारतीय पक्षबाट समेत आधिकारिक रुपमा पुलसंगै नाका पनि संचालनमा आएको जानकारी दिएपछि हर्षित देखिएका रिजालले ‘यो सबैको अथक प्रयासको परिणाम भएको’ प्रतिक्रिया दिए । प्रदेश १ को औद्योगिक लाईफलाई नै ध्वस्त भएको बेला आफ्नो कार्यसमितिले निरन्तर रुपमा यो मुद्दालाई उठाएर समस्या समाधानका लागि पहल गरेको र पहलकै कारण एक बर्षमै पुल र नाका पूर्ण संचालनमा आएकोमा आफूले एउटा मिसन पुरा गरेकोमा गर्व लागेको रिजालले बताए ।

