विराटनगर । विराटनगरस्थित दुग्ध विकास संस्थान(डिडिसि)बाट उत्पादन भएको खाद्यबस्तुको नमूना संकलन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आइतबार डिडिसि अनुगमन गरी उत्पादिक हुने दूध र चिज परीक्षणको लागि नमूना संकलन गरेको हो ।
डिडिसिबाट उत्पादित खाद्यवस्तु दूर्गन्धित भएको गुनासो उपभोक्ताले गरेपछिे आएपछि ल्याब परीक्षणका लागि नमूना संकलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए । ‘डिडिसिको अनुगमन गरेर स्याम्पल कलेक्सन गरिएको छ,’ उनले भने, ‘स्याम्पल परीक्षणको लागि खाद्य प्रविधिको ल्याबमा ल्याएका छौं ।’ ल्याब परीक्षणपछि मात्र रिपोर्ट आउने उनले बताए ।
विराटनगर दुग्ध वितरण आयोजनाले प्रदेश १ का विभिन्न जिल्लाबाट दूध संकलन गरी दूध तथा दुग्ध पदार्थहरु बिक्रीवितरण गर्दै आएको छ । आयोजनाले अहिले दैनिक १३ हजार लिटर दूध संकलन गरिरहेको छ ।

आयोजनासँग १ लाख ५ हजार लिटर दूध भण्डारण क्षमता रहेको छ भने बढी भएको दूधबाट पाउडर उत्पादन गर्न पाउडर प्लान्ट पनि छ । तर, पछिल्लो समय किसान र सहकारीहरुले डिडिसीलाई दूध दिन छोडेपछि पाउडर प्लान्ट सञ्चालन हुन सकेको छैन । संस्थानले दूधबाट बनेका एक दर्जनबढी उत्पादनहरु बजारमा बिक्री वितरण गर्ने गरेको छ ।