लोड हुँदैछ...

मेनु

विराटनगर विमानस्थल यस्तो बन्दैछ अब

विराटनगर विमानस्थल यस्तो बन्दैछ अब

विराटनगर । विराटनगर विमानस्थलमा अन्तराष्ट्रिय विमानस्थलकै मापदण्डको नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शिलान्यास गरेका छन् ।

कुल २ अर्ब ४२ करोड (भ्याटबाहेक) लागतमा निर्माण हुने टर्मिनल भवन १६ हजार २७७ वर्ग मिटरको हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उक्त टर्मिनल भवन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो हुने उनको भनाइ छ ।

अधिकारीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार वर्ग मिटरको छ भने गौतमबुद्ध अन्तराष्ट्रिष् विमानस्थल भैरहवाको टर्मिनल भवन १५ हजार वर्ग मिटरको छ । विराटनगर विमानस्थलको धावनमार्ग तत्काल अन्तराष्ट्रिय विमानस्थलको मापदण्ड अनुसार विस्तार नभएपनि अहिले रहेको १५०० मिटरको रनवेमा २७० मिटर थप गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

विमानस्थलको टर्मिनल भवन तीन वर्षभित्र निर्माण सक्नेगरी केसी–डाफे जेभीले ठेक्का लिएको छ । २०२५ मा बनेको विमानस्थलको टर्भिनल भवनबाट उत्तरमा नयाँ भवन बन्नेछ । नयाँ भवन बनेपछि पुरानो भवन भत्काइनेछ ।

नयाँ टर्मिनल भवनमा १८ सय यात्रु क्षमता रहने बताइएको छ । गत मंसिर ११ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले कामपनि सुरु गरिसकेको छ ।

नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक हंसराज पाण्डेका अनुसार नयाँ बन्ने टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, ४ वटा रेष्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, ३ वटा भीआईपी कक्ष, बालबालिका खेल्ने, प्रार्थना कक्ष, स्तनपान कक्ष, ४ वटा प्राइभेट कक्ष, हललगायतको अत्याधुनिक सुविधा रहनेछ ।

पुरानो टर्मिनल भवन भएको स्थानमा भने पार्किङ स्थल बनाउने तयारी छ । विमानस्थलको टर्मिनल भवनको शिलान्यास गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किराँतीले नयाँ बन्ने टर्मिनल भवनले प्रदेश १ को विकासमा कोशे ढुङ्गा साबित हुने बताए । उनले ठेकेदारलाई समयमा नै काम सम्पन्न गर्न निर्देशन दिए ।

‘कुनै पनि काम सुरु गर्नु ठुलो कुरा हो । त्यसो भन्दा पनि ठुलो कुरा समयमै सम्पन्न गर्नु हो । समयमै सम्पन्न गरी गुणस्तरीय काम हुनुपर्दछ,’ मन्त्री किराँतीले भने । नयाँ बन्ने सुविधा सम्पन्न टर्मिनल भवन सहज तरिकाले देश र जनताको पक्षमा गर्नुपर्ने उनले बताए ।

यसअघि विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिस्तरको विमानस्थलको रुपमा विस्तारका लागि तीन तहको सरकारबीच यसअघि सम्झौता भएर जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको थियो । मन्त्रिपरिषद्को २०७७ कात्तिक २७ गतेको निर्णयले १२६ दशमलव ४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । तर, बजेट अभाव रहेको भन्दै मन्त्रिपरिषद्को गत भदौ ३१ गतेको निर्णयले जग्गा अधिग्रहणको काम स्थगन गरेको छ ।

विराटनगर विमानस्थलबाट हाल बुद्ध एयरलायन्सको ७, यति एयरलायन्सको ४, सौर्यको २ र श्री एयरलायन्सको ३ गरी दैनिक १६ वटा उडान भइरहेको छ ।

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

Jahangir alam
February 13, 2023 6:08 PM

One time make international airport

Simon bhattarai
February 14, 2023 11:46 AM

Kam Chai time ma nai shakinu parxa Ani matra hunxa

प्रतिक्रियाहरू बन्द छन्।