लोड हुँदैछ...

मेनु

तुलसी सहकारीमा निक्षेपकर्ताको करोडौं रुपैयाँ जोखिममा

तुलसी सहकारीमा निक्षेपकर्ताको करोडौं रुपैयाँ जोखिममा

विराटनगर । अनेकौं बेथितिबाट गुज्रेको सहकारीले आफ्नो सहकारी ऐन र क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्दा विराटनगरका ठूला भनिएका सहकारीमा पनि बचतकर्ताको निक्षेप जोखिममा परेको पाइएको छ ।

एकपछि अर्को गर्दै सहकारी क्षेत्रमा जम्मा गरेको निक्षेप जोखिममा परेको घटना सार्वजानिक भइरहँदा विराटनगरको अर्को ठूलो सहकारी संस्थाको पनि निक्षेप जोखिममा परेको घटना बाहिर आएको हो ।

विराटनगर महानगरपालिका–२ स्थित तुलसी बहुमुखी सहकारी संस्थाका संचालकहरू सम्र्पकबिहीन बनेपछि निक्षेपकर्ताको करोडौं रूपैयाँ जोखिममा परेको बचतकर्ताहरुले बताएका छन् । विराटनगर ४ की बिमला भट्टराईले तुलसी सहकारीमा १८ लाख रुपैयाँ मुद्दती खाता खोलेर जम्मा गरेको वर्ष दिन पूरा भइसकेको छ । तर सहकारीले साँवा र ब्याज रकक फिर्ता दिन आलटाल गरेको भट्टराईले बताइन् । ‘मुद्दती खातामा जम्मा गरेको रकमको अवधि पूरा भइसक्दा पनि सहकारीले अहिलेसम्म साँवा र ब्याज भुक्तानी दिन सकेको छैन,’ उनले भनिन्, ‘सहकारी धाएको महिना दिन हुनलागिसक्यो । तर, सहकारीले भाका मात्र दिँदै फर्काइरहेको छ । ’ उनकाअनुसार सहकारीले शुक्रबार रकम दिने बाचा गरेको थियो तर आइतबार पनि भुक्तानी दिएन । ‘सहकारीले भाका दिएको दुई दिन बितिसक्दा पनि बचत गरेको रकम नदिएपछि सहकारी आएका थियौं । यहाँ सहकारीका संचालक र समिति पनि भेट्न पाएनौं । अहिले अध्यक्ष पनि सम्र्पकबिहीन हुनुभएको छ ।’

विराटनगरकी ममता कुमारी साहले पनि तुलसी बहुमुखी सहकारीमा बचत गरेको १८ लाख रुपैयाँ पाउनुपर्ने बताइन् । ‘फिक्स डिपोजिट गरेको वर्ष दिन भयो । अवधि पूरा भएपछि सहकारीमा पैसा लिन आएको हप्तांै बितिसक्यो । अहिलेसम्म दिने छाँटकँट छैन,’ उनले भनिन् ।
दुःख गरेर आर्जेको रकम खाइनखाइ राखेको रकम ढुब्यो भने आफू सडकमा आउने उनले सुनाइन् । ‘आफूसँग भएको रकम सबै यही सहकारीमा बचत गरेको छु,’ उनले भनिन्, ‘आफूले जम्मा गरेको रकम सहकारीले दिएन भने म त सडकमा आउँछु ।’

यसरी तुलसी सहकारीमा निक्षेप जम्मा गर्ने बचतकर्ताहरू आफूले जम्मा गरेको रकम लिन आउनेको भीड लाग्ने गरेको छ । पछिल्लो दश दिनयता बचतकर्ताले रकम लिन जाँदा संस्थाका अध्यक्षसहितका सञ्चालक समिति र कर्मचारी भेटिन छाडेका छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मा हुन् । उनी अहिले कार्यालयमा नआउने गरेको त्यहाँका कर्मचारीले बताए । २०७१ सालमा सहकारी स्थापना भएको थियो । बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै सहकारीमा जम्मा गरेको रकम दिन आलटाल गरेपछि निक्षेप जोखिममा परेको हो ।

आफ्नो बचत रकम झिक्न आउने सेवाग्राहीलाई बारम्बार झुक्काउने काम भइरहेको छ । सहकारीमा भुक्तानी असन्तुलन भएका कारण यस्तो समस्या आएको सञ्चालकले बताउने गरेका छन् । तर, बचतकर्ताको रकम झिकेर सञ्चालकले मनोमानी व्यक्तिगत खर्च गरेका कारण सहकारीमा समस्या आएको बुझिएको छ ।

तुलसीको उदयपुरस्थित गाईघाटमा रहेको शाखामा समेत केहिदिन अगाडी नै तालाबन्दी भएको छ ।सहकारीले टाँसेको सूचनामा भने हाल विश्वव्यापी रुपमा भइरहेको आर्थिक मन्दीको प्रभाव परेको उल्लेख छ । लगानी गरेको रकम फिर्ता नआउँदा समस्या परेको उल्लेख गरिएपनि सञ्चालक सम्पर्कमा नआउँदा र बचतकर्तासामु सहकारीको अवस्था सार्वजानिक नगर्दा समस्या देखिएको हो ।

सहकारीका मेनेजर सिताराम अधिकारीले बचतकार्ताको सम्पूर्ण रकम फिर्ता दिने बताए । ‘अहिले तरलताको कारणले समस्या आएको हो,’ उनले भने, ‘जम्मा गरेको बचतकर्ताहरुको रकम क्रमश फिर्ता दिनेछौं । हामीलाई केही समय लाग्छ । तरला अभावको कारणले समस्या आएको हो । यो समस्या समाधान गर्नेतर्फ सहकारीका संचालकहरु लागिपरेका छौं । बिस्तारै सबैको पैसा फिर्ता हुनेछ ।’

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Bikram Dev Roy
February 16, 2023 9:21 PM

Khass maa kuraa k rahexa vanne satyaa tathaa khulaaunu paaro Sahakari le …Bajat gareko rakaam kaile samma firta hune raaa tesko laagi aafule gaareko process haaruko bibaraan paani khulaaunu paaro….Sanchalak haarulaai samatayera police le aafno custody maa raakhnu paroo sabaai vandaa pahile…aani branch laai paanii yatawat rupp maa nirantarta didaai gaarnu paroo…artik mandi hudaa kaai hudaina sanchaalak raa teskaa naaam maa vayeko sabaai paisa ra sampati maa rookaa laagunu paarxaa 🙏

प्रतिक्रियाहरू बन्द छन्।