पाँचथर ।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तमोर करिडोरको धनकुटा–पाँचथर खण्डको सडकमा कालोपत्र सुरु गरिएको छ ।
धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्म ११० किलोमिटर क्षेत्रको कालोपत्रे गर्ने ठेक्का सम्झौता भएसँगै ठेकेदार कम्पनीले काम थालेको हो ।
तमोर करिडोर आयोजनाका प्रमुख कुवेर नेपालीका अनुसार दुई प्याकेजमा ठेक्का सम्झौता भएको छ । धनकुटाको मूलघाटदेखि हाङठुवासम्म कालोपत्र गर्न ६६ किलोमिटर क्षेत्रलाई पहिलो र हाङठुवादेखि गणेशचोकसम्म ५४ किलोमिटरलाई दोस्रो खण्ड मानिएको छ ।
पहिलो खण्डको ६६ किलोमिटर सडक कालोपत्रका लागि रौतहा क्षमादेवी (जेभी) ले २ अर्ब ४० करोडमा ठेक्का लिएको छ भने थप ५४ किलोमिटर १ अर्ब २४ करोड रुपैयाँमा एपेक्स निर्माण सेवाले ठेक्का लिएको छ ।
निर्माण व्यवसायीले सम्पर्क कार्यालय खोलेर सडक चौडा गर्ने, नालीपेटी बनाउने र ढुंगा, गिट्टी, बालुवा संकलन गर्ने काम थालेका छन् । अबको दुई वर्षभित्र काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तमोर करिडोर सुनसरीको चतरादेखि सुरु भएर ताप्लेजुङको टिपताला पुगेर टुंगिन्छ ।
छोटो दूरी र फराकिलो सडक भएकाले पाँचथर, ताप्लेजुङ र तेह्रथुमअन्तर्गत तमोर तटीय क्षेत्रका नागरिकलाई आउजाउसँगै खाद्यवस्तु आयात, कृषि र नगदे बाली निर्यातमा सहज भएको छ । यो सडक नखुल्दा झापा हुँदै विराटनगर पुग्न कम्तीमा १० घण्टा लाग्ने गरेकोमा अब ५ घण्टामै पुग्ने अवस्था बनेको छ ।
अहिले तमोर करिडोर भएर पाँचथरबाट धरानसम्म दैनिक बस र जिप सञ्चालनमा छन् । सो सडकको मूलघाटदेखि चतरासम्म जोड्ने ३३ किलोमिटर पनि ट्रयाक खुलाइएको छ । तमोर नदीको किनारैकिनार खनिएको यो सडकलाई पहाडदेखि तराई झर्ने छिटो र सजिलो ‘फास्ट ट्रयाक’ भन्ने गरिएको छ ।

