विराटनगर । करिब १४ करोड रुपैयाँ लगानीमा तयार भएको मोरङको कटहरीस्थित फलफूल तथा तरकारी बजार अलपत्र बनेको छ ।
विराटनगरलाई लक्षित गरेर कटहरी गाउँपालिका १ मा निर्मित फलफूल र तरकारीको थोक बजार उद्घाटन भएको ४ वर्ष पुरा हुनलाग्दा पनि सञ्चालन हुन सकेको छैन ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ३ गते उद्घाटन गरेको बजारको भौतिक संरचना भत्कन थालेको छ । संघीय सरकारले निर्माण गरेको बजार सञ्चालनको लागि प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजनाले साँघुरो र अव्यवस्थित विराटनगर महानगरपालिकाको गुद्री बजार सार्न १३ करोड ७६ लाख ५४ हजार ७१० रुपैयाँ लागतमा बजार निर्माण गरेको थियो । नयाँ बजार निर्माण भएपछि विराटनगरका तत्कालीन मेयर भीम पराजुलीले गुद्री बजार बन्द गराएका थिए । तर, गुद्रीका व्यापारी नयाँ बजारमा सर्न मानेनन् ।

गुद्री बजारका व्यापारीले कटहरीको बजार अपायक रहेको भन्दै सर्न नमानेको बेला नेपाली कांग्रेसका मोरङका जिल्ला उपसभापति (हाल मेयर) नागेश कोइरालाले विराटनगर १२ स्थित आफ्नै जग्गामा तरकारी बजार बनाउन भाडामा लगाएपछि नयाँ बजार सञ्चालन हुन नसकेको हो ।
पराजुलीको योजना बिफल पार्न कोइरालाले विराटनगर बसपार्क पछाडि रहेको जग्गा व्यापारी र ठेकेदारलाई भाडामा दिएर नयाँ तरकारी बजार स्थापना गराएका छन् ।

कोइरालाको जग्गामा पशुपति भगतसहितको समूहले संरचना निर्माण गरेर भाडामा लगाएको छ । पराजुलीपछि मेयर बनेका कोइरालाले बजारलाई भाडामा दिएर नियमित आम्दानी भइहरेकोले सरकारले बनाएको बजारमा व्यापारीलाई लैजान अन्च्छिुक छन् । महानगरपालिका बाहिर बनेको संरचनाहरु चलाउने जिम्मेवारी आफ्नो नभएको उनी बताउँछन् ।

कटहरीको कृषि बजार विराटनगरमा नपर्ने भएकोले आफ्नो टिप्पणी नरहेको बताउने मेयर कोइराला व्यापारीले भाडामा जग्गा मागेपछि आफूले दिएको बताउँछन् । उनकै योजनामा पहिलो पनि गुद्री सार्न नदिएको र अहिले त झनै आफैं मेयर रहेकोले सर्ने संभावना नरहेको व्यवसायीको भनाइ छ ।

गुद्री नसरेपछि अलपत्र परेको संरचनामा बजार चलाउन प्रदेश सरकारको कृषि मन्त्रालयले २०७७ साउनमा नियमावली बनाएर विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघलाई जिम्मेवारी दिएको थियो । प्रदेशका सहकारी संस्थाहरु मिलाएर बनाएको संघले पनि बजार चलाउन सकेन ।

विराटनगरमै नयाँ गुद्री बजार बनेपछि व्यापारी सरकारले बनाएको बजारमा नगएको प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले बताए । सहकारीले पनि बजार चलाउन नसकेपछि अब संरचना के गर्ने भन्ने अन्योल रहेको उनको भनाइ छ । करिब ५ बिघा जग्गामा निर्मित आधुनिक तरकारी तथा फलफूल बजारमा खुद्रा तथा थोक बिक्री कक्ष, प्रशासनिक भवन, क्यान्टिन, क्लिनिक, बैंक, आराम कक्ष, शौचालय, पार्किङलगायत संरचना छन् । कटहरीमा तरकारी बजारको संरचना बनेपनि सञ्चालन हुन नसकेकोमा कटहरी गाउँपालिकाका देवराज चौधरी भने दुखी छन् । बजार निर्माणको लागि उनले पनि पहल गरेका थिए ।

चौधरीले विराटनगर महानगरपालिकाले असहयोग गरेको र प्रदेश सरकारले चलाउन नसक्ने भए कटहरी गाउँपालिकालाई बजारको जिम्मा दिन माग गरेका छन् । बजार सञ्चालनको अनुमतिको लागि संघ र प्रदेशको सम्बन्धित मन्त्रालयलाई गाउँपालिको तर्फबाट पत्राचार गरेको उनले बताए । पालिकालाई दिए हामी चलाएर देखाइदिने उनको भनाइ छ ।