काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।
प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेशसभामा आज विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएपछि नेकपा एमाले संसदीय दलका नेता रहेका मुख्यमन्त्री राजेन्द्रसिह रावल पदमुक्त भएका थिए । पुस २७ गते माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका हुन् ।
रावलले विश्वासको मत लिनुपर्ने अन्मित दिन आज थियो । आजको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेशसभामा अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् ।
रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ ।