काँग्रेसका शाह सुदुरपश्चिमको मुख्यमन्त्री बन्ने

विराटनगर । संविधानमा गरिएको व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिन नसकेपछि सुदूरपश्चिममा प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन् ।

प्रदेशसभामा आफूले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि नेकपा एमाले संसदीय दलका नेता रहेका मुख्यमन्त्री राजेन्द्रसिंह रावल एक महिनामै पदमुक्त भएपछि शाह मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

प्रदेश प्रमुख देवराज जोशीले २७ पुसमा रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसवेला उनलाई माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो । तर, सात सांसद रहेको उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नभएको भन्दै रावललाई विश्वासको मत दिन अस्वीकार गरेपछि उनको सरकार एक महिनामै ढलेको हो ।

रावल संविधानको १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत नपाएकोले अब सोही धाराको उपधारा ३ अनुसारको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्री बन्नेछन् । प्रदेश प्रमुखले आजै नयाँ मुख्यमन्त्री नियुक्त गर्ने संभावना छ ।

संविधानको १६८ को ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले पनि एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत पाइसक्नुपर्छ ।  सुदुरपश्चिमको ५३ सदस्यीय प्रदेशसभामा काँग्रेसको १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ स्वतन्त्र सांसद छन् ।

बिहिबार, २६ माघ, २०७९, साँझको ०६:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर