उदयपुर । २०७५ फागुन ३० गतेभित्र दश किलोमिटर सडक कालोपत्रे सकेर सरकारलाई हस्तान्तरण गर्ने गरी २०७२ चैत २ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले खोटाङको साकेला गाउँपालिका खण्डको काम ७ वर्ष नाघी सक्दासम्म पुरा नगपछि स्थानीय आक्रोशित हुँदै ठेक्का तोड्न माग गरे ।

‘पुष्पलाल मध्य पहाडी लोकमार्ग’ अन्तर्गत साकेला १ बाँझेच्यान्डाँडा बेखुवा–चखेवाभन्ज्याङ खण्डको सडक, म्याद नाघेको वर्षौँसम्म पुरा नगरेपछि नियमन निकाय लोक मार्ग आयोजना कार्यालय धुलिखेलले पनि मंसिर दोस्रो साता नै ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरिसकेको थियो । आयोजना कार्यालय र स्थानीयको दोहोरो दबाब परेपछि भने काम अलपत्र छाडेर बसेको भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिशाही जेवीका रौँ ठडिए ।

‘पहिलाकै ठेकेदारलाई काम गर्न दिऊँ तर, निश्चित समयभित्र काम सक्ने प्रतिबद्धता जाहेर गरेको कायलनामापत्र ठेकेदारले गर्नुपर्छ’ उनको यो प्रस्तावमा निर्माण कम्पनी सहमत भयो । जस अनुसार ०८० असारभित्र कालोपत्रेको काम पुरा गर्ने समय सीमा तोकेर कायलनामापत्र लेखी आयोजना कार्यालय प्रमुख (डिई) दीपेन्द्र पाण्डेको रोहबरमा निर्माण कम्पनी प्रतिनिधि मदन अधिकारीले अध्यक्ष राईलाई हस्तान्तरण गरे ।

माघ पहिलो सातादेखि काम सुरु गरी अन्तिम सातासम्ममा सबबेसको काम सक्ने ८ बुँदे कायलनामापत्र अनुसार सडक निर्माण कार्य सुचारु भयो । चखेवा भन्ज्याङबाट ‘सबबेस लेईङ’ को काम सुरु गरेको महिना दिनको नतिजा अहिले देखिन थालेको स्थानीय बताउँछन् । माघ २५ गतेभित्र सबबेस लेइङ सकेर २६ गतेदेखि ‘बेस लेईङ’ कार्य सुरु गर्ने ‘डेडलाइन’ कायलनामापत्रको २ नं. बुँदामा उल्लेख भए अनुसार यो समाचार तयार पार्दासम्म सबबेस लेईङको काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष राईले बताए ।

ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्दा ७ वर्षमा नसकिएको काम अरु ५÷६ वर्ष नलाग्ला भन्ने कुनै ग्यारेन्टी नभएकाले मध्यमार्गी उपाय अपनाउँदै ठेकेदारलाई कायलनामा गराएर काम सुचारु गर्दा ७ वर्षमा नभएको काम महिना दिनमै भएको अध्यक्ष राईको भनाई छ । काम गुणस्तरीय भए नभएको हेर्न आयोजना कार्यालयले नियमित अनुगमन, निरीक्षण र आवश्यक निर्देशन दिईरहेको र आफूलगायत जनप्रतिनिधिले पनि चासोका साथ काम गराइरहेको अध्यक्ष राईको भनाइ छ । यही बीचमा निर्माण कम्पनी प्रतिनिधि मदन अधिकारीलाई मातृ शोक परेकाले कार्यपालिका अनुसार कामले गति लिन नसके पनि पहिलेको तुलनामा धेरै प्रगति भएकोमा अध्यक्ष राई खुसी देखिन्छन् । कायलनामको बुँदा नं. ८ मा ‘कार्यपालिका अनुसार काम नगरे पुष्पलाल मध्ये पहाडी लोक मार्गले जुनसुकै बेला ठेक्का तोड्न सक्ने र त्यसमा मन्जुरी रहेको’ उल्लेख रहेकाले पनि काम हुने कुरामा अध्यक्ष राई विश्वस्त छन् ।

निर्माण स्थलमा रहेका आयोजना कार्यालयका सव इन्जिनियर केशव पौडेलका अनुसार उल्लेख्य प्रगति नभए पनि सामान्य रफ्तारमा काम भइरहेको छ । उनले २ वटा पाइप कल्भर्ट, एउटा कजवे र ग्यावियन वाल भर्ने काम सम्पन्न भएको जानकारी दिए । आयोजना प्रमुख पाण्डेले भने कायलनामा पत्रमा उल्लेखित कार्यपालिका अनुसार काम नभएको बताएका छन् । उनले माघ २५ भित्र सवबेस लेईङको काम सकेर २६ गतेदेखि बेस लेईङ थाल्ने भनेता पनि माघ २३ गतेसम्मको प्रगतिले सबबेस लेईङ सकिने नदेखिएको बताए । डिई पाण्डेले पहिलाजस्तै ढिलासुस्ती नगर्न पनि सचेत गराएका छन् ।

‘पहिला धेरै ढिला गरेको यो ठेकेदार कम्पनीले यसपटक पनि त्यस्तै गरेमा कार्यालय सहन सक्दैन’ डिई पाण्डेले चेतावनीको शैलीमा भने ‘पर्याप्त जनशक्ति र औजार उपकरण परिचालन गरेर कायलनामा अनुसार समयमै काम सकेन भने कारबाही गरिन्छ ।’ काम थालेको ३ वर्षभित्र कालोपत्रे गरिसक्ने गरी २६ करोड लागतमा सम्झौता गरेको ठेकेदारले ७ वर्षसम्म ३४ प्रतिशत मात्र काम गरेर लापरबाहीको नमुना प्रदर्शन गरेको पाण्डेको गुनासो छ ।

त्यस बेला कोभिड र अन्य बहाना बाजी गरे पनि अब त्यस्तो गर्न नदिने भन्दै उनले यसअघि चरम लापरबाही गरेकै कारण ठेक्का तोड्न सिफारिस गरिसकेको बताए । तर, गाउँपालिका अध्यक्षको आग्रहमा अन्तिम मौका दिइएको भन्दै उनले प्रतिबद्धता अनुसार काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । लोक मार्ग निर्देशनालयका प्रमुख हरि पोखरेलले ठेकेदार कम्पनीले समयमा काम नगरेको गुनासो गाउँपालिका, आयोजना कार्यालय र स्थानीयवासीले जानकारी गराएपछि छिटो काम गर्न ताकेता गर्दै गरेको बताए । गाउँपालिकाले ठेकेदार कम्पनीलाई कायलनामा गराएर अहिले काम सुचारु भइरहेको र प्रगति राम्रै भएको सुनेको उनले बताए । आउँदो असारभित्र कालोपत्रे सक्ने गरी धमाधम भइरहेको खबर स्थानीयले दिएको जानकारी पनि पोखरेलले दिएका छन् ।