विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा आजदेखि सुरु भएको सीएनआई कोसी एक्स्पो २०७९ को भव्य उद्घाटन भएको छ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे । एक्स्पोस्थलमा २७० वटा स्टलहरु राखिएको छ । जसमा उद्योगी व्यवसायीहरुले आफ्ना उत्पादनको प्रवद्र्धन र विक्री वितरण गर्नेछन् ।
एक्स्पो उद्घाटनमा बटुकहरुद्वारा स्वस्तिक बाचन गरियो । शान्तिका दुतका रुपमा परेवा र बेलुन उडाइयो । उद्घाटन अघि विराटनगरको ट्राफिक चोकबाट सवै जातजातीको परम्परा र साँस्कृतिक पहिचान झल्किने पोषाकमा झाँकीसहितको ¥याली पनि निकालिएको थियो ।
महिलाको समुहले पञ्चेबाजा बजाएर झाँकीको सूरुवात गरेका थिए । झाँकीमा नेपाल पुलिसको ब्याण्डसहित थारु, झाँगड लगायतका जातजातीको समुह सहभागी भए । एक्स्पो उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री ओलीसहित संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेशका मन्त्रीहरु, संघीय सांसद तथा प्रदेश सांसदहरु सहभागी थिए ।
एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहेका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् ।
एक्स्पोका माध्यमबाट प्रदेश १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ सर्वोच्च शिखर सगरमाथासहितका अग्गा हिमालहरुको नाममा पेभिलियन राखिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा विराटनगर–२ शंकरपुर मार्ग आयोजित एक्स्पोलाई ऐतिहासिक बन्ने आयोजकको विश्वास छ ।
माघ २८ गतेसम्म आयोजना हुने एक्स्पोका लागि तीन सयजना बढि युवा जनशक्तिलाई रोजगारीको अवसर प्रदान गरिने दाबी गरिएको छ । एक्स्पोमा हिमालदेखि पहाडसम्मको भौगोलिकतालाई प्रदर्शन गरिनेछ । त्यसका साथै थारु जातीको साँस्कृतिक तथा जातीय परम्परागत घर पनि प्रदर्शनमा राखिएको छ । कोसी नदीको झल्को आउने गरी त्यसमाथि सेल्फी पुल निर्माण गरिएको छ ।



































प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।