विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा बिहीबारदेखि सुरु भएको सिआइएन कोशी एक्स्पोको उद्घाटन समारोहमा उद्योगी व्यवासायीले सरकारसामु आक्रोश व्यक्त गरे ।
बैंकहरु डामेर छोडेका साँढेजस्ता भएका छन् र उनीहरुले ८० प्रतिशत नाफा खाँदा पनि कारबाही नभएको भन्दै सिएनआई प्रदेश अध्यक्ष भीम घिमिरेले कार्वाहीको माग गरे । ‘उद्योगीले उत्पादन गरेका वस्तुहरुमा २० प्रतिशतभन्दा बढी नाफा खाँदा हत्कडी लाग्छ,’ उनको आक्रोश थियो, ‘बैंकलाई चै डकैति गर्न दिने ?’
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उद्योग तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित सहभागी कार्यक्रममा घिमिरेले आत्महत्या गरेका व्यवसायीलाई सहिद घोषणा गर्नसमेत माग गरे ।
राजनीतिक दलका मान्छेहरु भीरबाट लड्दा पनि सहिद घोषणा गर्ने गरिएको दावी गर्दै घिमिरेले उद्योग व्यवसाय चलाउन नसकेर आत्हत्या गरेकाहरुलाई पनि सहिद घोषणा गर्नुपर्ने जिकिर गरे । ‘अहिले पनि बैंकहरुले तत्कालिन पञ्चायती शासनमा शासकहरुले २४ र ३६ प्रतिशत व्याज लिएजस्तो रातारात बैंकहरु धनी हुने उद्योगीहरु मर्ने, रोजगारी टुट्ने र राजस्व घट्ने अनि हामी सुसाइडको अवस्थामा पुग्ने वा पलायत हुने अवस्था छ,’ उनले भने, ‘एक दर्जन उद्योगीले आत्महत्या गरिसकेकोले राष्ट्र निर्माणमा लाग्दालाग्दै आत्महत्या गर्न बाध्य भएका उद्यमी र व्यवसायीलाई सहिद घोषणा गरिनुपर्छ ।’
घिमिरेले विराटनगरको औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङले आक्रान्त भएको भन्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशन कुलमान घिसिङलाई पनि कार्वाहीको माग गरे । प्राधिकरणका डाइरेक्टरले पूर्वका उद्योगीले धेरै राजनीति गरेको भन्दै लाइन काट्नसक्ने धम्की दिएको बताउँदै उनले त्यस्तालाई कारबाही गर्नुपर्ने बताए । अहिले पनि उद्योगहरुमा ३÷४ घण्टा लोडसेडिङ भइरहेको भन्दै उनले राजनीतिक पार्टी र ब्यूरोक्रेसीबाट पनि सहयोग हुनुपर्ने बताए ।
संघीयताले मुलुकको खर्च बढाएको र यो अवश्यक नरहेको भन्दै सिएनआई प्रदेश अध्यक्ष घिमिरेले प्रदेश खारेजी गर्नसमेत माग गरे । संघ र स्थानीय तह दुई तहको मात्र सरकार कायम गर्नुपर्ने उनको माग थियो ।
कार्यक्रममा उद्योगी राजेन्द्र राठीले राजनीतिक दलका नेताहरुलाई योजनाबिनै देश चलाएको भन्दै व्यंग्य गरे । ‘हामीले ५० वर्षपछिको प्लानिङ गरेर काम गर्छौं । यो देशमा पनि १ सय वर्षपछाडिसम्मको प्लानिङ गरेर चलाउनुपर्छ,’ उनले भने, ‘शनिबारको विदा पुस्तौं पुस्तादेखि चलिरहेको छ । पहिले इन्टरनेट थिएन । प्रविधि यतिधेरै विकसित भएको थिएन । त्यस्तो बेलामा शनिबार विदा भयो । तर, अहिले व्यापार गर्दा भारत, चीन लगायत अन्य मुलुकबाट गर्नुपर्छ । त्यहाँ आइतबार विदा हुने गरेको छ । नेपालमा शनिबार विदा हुँदा हामीले दुई दिन काम गर्ने क्रममा पर्खनु पर्ने अवस्था छ । यस्तो कुरामा पनि ध्यान दिनुहोला, पूर्वप्रधानमन्त्रीज्यू ।’
उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पनि अहिलेको नकारात्मक वातावरणलाई समाधान गरेर व्यापारीले आत्महत्या गर्नुपर्ने अवस्था नआवस् भन्ने कुरामा सरकार सचेत हुनुपर्ने बताए । उनले अब उद्योगी व्यवसायीले पनि निराशा छोडेर आर्थिक गतिविधिमा लाग्नुपर्नेमा जोड दिए । ‘अहिलेको वातावरणलाई ठीक गर्नका लागि पहल गर्नुपर्छ । अहिले सरकारले चालेको कदमले आगामी तीन महिनामा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने संकेत मिलेको छ,’ उनले भने ।
कार्यक्रममा उद्योगीलाई सम्बोधन गर्दै उद्योग तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारको नीतिगत प्राथमिकता र साझा कार्यक्रममा उल्लेख गरेका कुराहरुको आधारमा उद्योग क्षेत्रमा रहेका समस्या समाधान गर्ने बताएका थिए ।



























1 प्रतिक्रिया
1 प्रतिक्रिया
🙏😠बैंक माफियाको रुपमा प्रस्तुत हुदै छ धेरै उधाेगपति उधाेग बन्द गरेर बैंक मा लगानी गरेर जनता लुटन लागेका छन राजनीतिक दलका नेताहरू चाेर नै छन त्यस माथि सुनमा सुंगन्ध नेपाल काे महा लुटेरा,चाेर,भ्रष्टाचारीकाे जमात कर्मचारी तन्त्र र राष्ट्र बैंकको गवर्नरले 9 % मा सम्झौता गरेको रिणमा 18 % लुटने अनुमती सहमति दिनु भनेको सबै काले काले मिलेर खाउ भालेमा सामेल छन ,त्यसैले बैंक रिण लिने सबै जनता उठनुपर्ने बैंक बिरुद्ध धेरै सरिफ हुनु भएन सम्झौता भन्दा बढि न तिर्नुपर्ने र जनताले मिलेर दुई चारवटा बैंक माफिया लाई ठाेकपिट वाला जन कार्वाही गर्ने हाे भने सबै लाइनमा आउछन् तर हामी जनता रुने मर्ने काम गर्न छाेडनुपर्ने अब रुवाउने र आवश्यक परे समुहमा माफिया लाई मार्न पनि पछि पर्नु भएन अनि मात्रै सकारात्मक परिणाम आउँछ😠😠😠🙏🙏
प्रतिक्रियाहरू बन्द छन्।