इटहरी । सार्वजनिक जग्गा मिचेर बनाइएका १५ वटा घरहरू इटहरी उपमहानगरले डोजर लगाएर भत्काएको छ । ६ लेन राजमार्ग परियोजना अन्तरगत सडकको मापदण्डभित्र बनेका घरहरूमा उपमहानगरले डोजर लगाएको हो । राजमार्गलाई फराकिलो बनाउन र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन उच्च अदालत विराटनगरले आन्तरिक आदेश जारी गरे लगत्तै उपमहानगरले त्यस्ता संरचनाहरूमा डोजर लगाउन थालेको हो ।
माघ १३ गतेदेखि चलेको यस अभियान अन्तरगत ६ दिनको अवधिमा इटहरी वडा नं. ९ को १५ वटा घरहरू डोजर लगाएर भत्काइएको उपमहानगर प्रमुख हेमकर्ण पौडेलले बताए । सुरूवाती समयमा सामान्य बिवाद देखिएपनि विकास निर्माणका कामहरूमा अवरोध नगर्न अनुरोध गरेसँगै सडक क्षेत्रभित्र पर्ने घरहरू स्थानीय आफैंले भत्काउन थालेका छन् । अदालतको आदेश अनुरूप राजमार्ग क्षेत्रमा पर्ने घरहरू अहिले भत्काउन थालिएको मेयर पौडेल बताउँछन् । अहिलेसम्म १५ वटा घरहरू भत्काइसकिएको मेयर पौडेलले बताए ।
इटहरी ९ मा घरहरू भत्काउने कार्य करिब सकिएको र ६ नम्बर वडामा सुरूवात गर्न लागिएको पनि मेयर पौडेलले बताए । ६ नम्बर वडामा ३० वटा भन्दा बढी घरहरू राजमार्ग क्षेत्रमा परेका छन् । राजमार्ग ओगटेर बनाइएका वडा नम्बर ६ का घरधनीहरूलाई १५ दिनभित्र सर सामान सारिसक्न उपमहानगरले अनुरोध गरेको छ । १५ दिनभित्र सामान नसारी अटेर गरे उपमहानगर जिम्मेवार नहुने र सोहि अवस्थामा डोजर चल्ने बताइएको छ ।
सडक परियोजना अन्तरगत ५५ फुट कायम हुने गरी गत शुक्रवारदेखि डोजर चलाइएको उपमहानगरले जनाएको छ । अघिल्लो वर्ष धरान रोडमा ५५ फुट कायम गरी सडक विस्तार गरिएकोमा बिराटनगर रोड भने त्यतिकै छोडिएको थियो । घरधनीहरूले जग्गाको मुआब्जा पाउनुपर्ने माग गर्दै सडक विस्तारमा अवरोध गर्दै आएका थिए ।
पटक पटकको अवरोध र बिवादकै कारण लामो समयदेखि ६ लेन राजमार्ग इटहरीमा स्थगित हुँदै आएको थियो । इटहरीसँगै सुनसरीको दुहबी र धरानमा पनि राजमार्ग विस्तार सुरु गर्ने तयारी छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।