दमक ।झापाको दमकस्थित कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बैंकको ३२ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित दर्जन कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएको एक सातापछि बस्नेतले प्रहरीसमक्ष आत्मासमर्पण गरेका हुन् । आइतबार सीइओ बस्नेतजी आफैं प्रहरी कार्यालय आएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आफैं सम्पर्कमा आएका बस्नेतलाई प्रहरीले हिरासतमा लिएर बयान लिएको छ । प्रहरीले ७ दिनको लागि म्याद थप माग गर्दै उच्च अदालत इलाममा निवेदन दिएको छ । अदालतले दिएको समयमा बयान लिने र थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ
बैंकको ३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई पत्र पठाएपछि घटना बाहिर आएको थियो । प्रहरी स्रोतका अनुसार कतिपय ऋणहरु बिनाधितो दिइएको छ भने कतिपय ऋण धितोले खाम्नसक्ने अवस्था छैन । त्यस्तै पसल देखाएर दिएको ऋणको अवलोकन गर्न जाँदा उक्त पसल नै अर्काको रहेकोसमेत भेटिएको छ ।
प्रारम्भिक अनुसन्धानमा भ्यालुएटर र बैंकका कर्मचारी मिलेर नक्कली ऋणी खडा गरी ऋण प्रवाह गरेको देखिएको स्रोतले जनाएको छ । अपचलन भएको रकम बैंकले संभावित जोखिम व्यवस्थाका लागि छुट्याइसकेको छ । बैंक स्रोतका अनुसार सीइओ बस्नेतले घटनबारे राष्ट्रबैंकमा जानकारी दिएका थिए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!