वैध आयात–निर्यात बढाउन जोड

विराटनगर । राजस्व चुहावट, अवैध तस्करीजस्ता कार्यलाई नियन्त्रण गरी वैध बाटोबाट आयात–निर्यात गर्ने कार्यलाई प्रोत्साहन गर्न सम्बद्ध सबै पक्षको सहकार्य जरुरी भएको सरोकारवालाहरुले बताएका छन् ।

विराटनगर भन्सार कार्यालयले ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर बिहीबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आधुनिक प्रविधि र शिक्षाको उच्चतम् प्रयोग गरी भन्सार कार्यालयहरू व्यापार सहजीकरणमा अग्रसर हुनुपर्ने बताए । अझै पनि प्रविधि र विधि प्रक्रियामा सुधार गरी सेवा प्रभाहमा सहजता प्रदान गरिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले नियमित र विशेष सुधार विधिमार्फत् भन्सार प्रशासन क्रमिक सुधार हुँदै गएको बताए । अर्थ मन्त्रालय भन्सार विभागको प्राथमिक उद्देश्य नै व्यापार सहजीकरण भएको हुनाले भन्सार कार्यालय व्यापार सहजीकरण गर्न तल्लीन रहेको बताए । ‘व्यापार सहजीकरणमार्फत् तोकिएको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न व्यापार व्यवसायमा संलग्न सबै पक्षको उत्तिकै समन्वय र सहकार्यको आवश्यकता पर्दछ । त्यसैले भन्सार कार्यालय सम्बद्ध सबै पक्षसँग मिलेर काम गर्न आह्वानसमेत गर्दछु,’ उनले भने, ‘यो अन्तर्राष्ट्रिय भन्सार दिवसले साँच्ची नै हामीलाई समन्वय र सहकार्यमार्फत् व्यापार सहजीकरण गर्न बल मिल्नेछ ।’

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बैंकको चर्को ब्याजदरको कारणले उद्योगी, व्यवसायीहरू आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । राज्यले तत्काल मौद्रिक नीति संशोधन गरी बैंकको चर्को ब्याजदर घटनाउनुपर्ने उनले बताए ।

कार्यक्रममा विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्रप्रसाद ढुङ्गानाले खुला सीमा भन्सारको लागि ठूलो चुनौती भएको बताए । समन्वय र सहकार्य गरी राजस्व असुलीमा सबैको साथ सहयोगको खाँचो रहेको उनले बताए । कार्यक्रममा विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मा, स्वतन्त्र भन्सार एजेन्ट संघ विराटनगरका अध्यक्ष नवल उपाध्ययलगायतले बोलेका थिए ।

७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर माघ ६ देखि १२ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरेको छ । बिहीबार भन्सार परिसरभित्र खुल्ला रक्तदान कार्यक्रम आयोजना गरियो । उक्त रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए । भन्सार दिवसको अवसर पारेर पहिलो दिन माघ ६ गते वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो । विराटनगर भन्सार कार्यालय परिसरभित्र एक सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवाहरू रोपेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्रप्रसाद ढुङ्गनाले जानकारी दिए ।

यसैगरी माघ ७ गते ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको थियो । ब्याडमिण्टन प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो । माघ ८ गते भलिबल प्रतियोगिता आयोजना गरियो । भलिबलको प्रथम टान्स नेपाल भयो भने द्धितीय विराटनगर भन्सार कार्यालय भयो । यस्तै फुटबलको बिजेता स्वतन्त्र भन्सार एजेन्ट प्रतिनिधि संघ र द्धितीय विराटनगर भन्सार एजेन्ट संघ भयो । माघ ९ गते सामुदायिक विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम गरिएको थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र अधिकृतहरूबाट जुद्धेश्वरी मा.वि. जहदाका विद्यार्थीहरूलाई सचेतनामूलक र स्टेशनरी सामान वितरण कार्यक्रम गरिएको छ ।

विभिन्न खेलकुद प्रतियोगिताका विजेता तथा उपविजेता टिमहरूलाई शिल्ड तथा प्रमाणपत्रहरू मोरङका प्रमुख जिल्ला अधिकारी दाहाल, मोरङ प्रहरी प्रमुख शान्तिराज कोइराला, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेलगायतले वितरण गरेका थिए ।

माघ १३, २०७९, बिहानको १०:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर