निजी क्षेत्रको चिन्ता : चर्को ब्याजले ज्यान लिने अवस्था कहिलेसम्म ?

विराटनगर । प्रदेश १ स्थित निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुले बैंकहरुले लादेको चर्को ब्याजदर नै उद्यमीको ज्यान लिने कारक बनिरहेको बताउँदै यसबारे गम्भीर हुन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिका अध्यक्ष टीकाराज ढकालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो विकराल अवस्थाको अन्त्य गर्न माग गरेका छन् । ‘कोभिडको महामारी, युक्रेन र रुसको युद्ध, बैंक तथा वित्तिय संस्थाको चर्को व्याजदर लगायतका कारण देशको आर्थिक अवस्था भयावह स्थितिमा रहेको छ ’, अध्यक्ष ढकालले विज्ञप्तिमा भनेका छन् ‘व्यवसायीहरुले आफ्नो उत्पादन कटौती गर्न वाध्य छन् भने बजारबाट उधारो उठ्न नसक्दा व्यवसायको प्रशासनिक खर्च धान्न समेत धौ धौ परेको छ । सरकारको राजश्व, बैंक व्याज लगायतका कारण कारोवारमा ठूलो समस्या आएको छ ।’

‘सूर्योदय इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले खुलेआम आत्मदाह गर्दै सामाजिक सन्जालमा पोष्ट गरेका यथार्थ वेदनाबाट समेत अहिले व्यवसायको अवस्था के रहेछ भन्ने खुलस्त देखिन्छ’ महासंघले विज्ञप्तिमा भनेको छ ‘यसैगरी विराटनगरका इलेक्ट्रीक व्यवसायी मोहन न्यौपानेले पनि सुसाइड नोटमा बैंक ब्याजका कारण देखाई आत्महत्या गरेका छन् ।’

उद्योगी व्यवसायीहरुले भोग्नु परेका समस्याका वारेमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले नेपाल सरकार तथा सम्वन्धित निकायको ध्यानाकर्षण गराउंदै आएपनि यसमा ठोस कार्यान्वयन हुन नसकेको महासंघको भनाइ छ। ‘देशमा प्रेमप्रसाद आचार्य, मोहन न्यौपाने जस्ता कैयन व्यवसायीहरु पिडामा छन् र भविष्यमा यस्ता घटना नदोहोरिएला भन्न सकिन्न’, महासंघले भनेको छ ‘सरकारको नीतिकै कारण आज व्यवसायीहरुले अनेकौं समस्याहरु झेल्दै आएको हामीले महसूस गरेका छौंं । अतः व्यवसायीहरुलाई आफ्नो कारोवार निर्धक्क रुपमा गर्ने वातावरण बनाउन र भविष्यमा यस्ता घटना दोहरिन नदिन नेपाल सरकार लगायत सम्वन्धित निकायमा अनुरोध गर्दछौं ।’ उद्योग संगठन मोरङले पनि उद्योगी व्यवसायीहरुको उचित गुनासो, पिरमर्का, समस्यालाई गम्भीरतापूर्वक सुनी समयमै सम्बोधन गर्न नियमनकारी नियकायलाई आग्रह गरेको छ ।

गत दुई दिनमा इलाम निवासी उद्योगी व्यवसायी प्रेमप्रसाद आचार्य र विराटनगर निवासी व्यवसायी मोहन न्यौपानेको मृत्युको घटनाले सम्पूर्ण उद्योगी व्यवसायीका साथै देशलाई नै स्तब्ध पारेको भन्दै संगठनले दुःखद् र मार्मिक घटनाले उद्योगी÷व्यवसायीले भोग्दै आएको भित्री अन्तरवस्तु र पीडालाई उजागर गरेको उल्लेख गरेको छ । यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन नियमनकारी निकायले उद्योगी व्यवसायीहरूको उचित गुनासो, पिरमार्का, समस्यालाई गम्भीरतापूर्वक सुनी समयमै सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएको संगठनको भनाइ छ ।

देशमै उद्यम व्यवसाय गरी आत्मसम्मानका साथ जीवनयापन गर्ने चाहना राख्ने व्यवसायीको दुःखद् आत्मदाहले राज्य र राज्यका सञ्चालक, नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको भन्दै संगठनले यस घटनाबाट पाठ सिकी काम गरी खान पाउने, स्वतन्त्रतापूर्वक बाच्न पाउने अधिकारको रक्षाका लागि जिम्मेवार अभिभावकको रुपमा राज्य प्रस्तुत हुने गरी नीतिगत र प्रकृयागत सुधारका लागि सम्बन्धित सबैमा अपिल गरेको बताएको छ । उद्योग व्यवसायलाई पेशा बनाइ दैनिकी जीवनयापन गर्दै आएका व्यवसायीलाई असफलताबाट हतोत्साहित भई अप्रिय निर्णय लिनुभन्दा पनि पेशागत संघरसंस्थाको माध्यमबाट पद्धती सुधारका लागि राज्यका संयन्त्रहरूलाई दबाब दिन आवश्यक पहल गरी अरुका लागि प्रेरणा स्रोत हुन संगठनले अपिल गरेको छ । , व्यवसाय सञ्चालनका दौरानमा विभिन्न समयमा आईपर्ने वाधा व्यवधानको एकल रुपमा गरिएको प्रयासलाई असफलताको अन्तिम प्रयासका रुपमा व्याख्या नगरी समाधान गर्न सामूहिक प्रयासका लागि अनुरोध गरेको संगठनले विज्ञप्ति जारी गर्दै भनेको छ ।

माघ १३, २०७९, बिहानको १०:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर