विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले आगामी माघ १९ गतेदेखि २८ गतेसम्म विराटनगर–२ मा आयोजना गर्न लागेको ‘सीएनआई कोशी एक्स्पो २०२३’को तयारीलाई तीब्र बनाएको छ । स्टल निर्माण लगायत विभिन्न तयारीको कामलाई तीब्र रुपमा अघि बढाएको आयोजकले जनाएको छ ।
महोत्सवस्थलमा आवश्यक पर्ने संरचनासँगै प्रविधि र बिद्युत आपूर्तिको व्यवस्थापनको काम धमाधम भइरहेको आयोजकले जनाएको छ । एक्स्पोमा ३५० स्टल राखेर विभिन्न वस्तुहरु प्रदर्शनीमा राखिने छ ।

सिएनआई प्रदेश १ का निर्देशक विजयहरी शर्माकाअनुसार महोत्सवमा अन्तर्राष्ट्रियस्तरको कृषि एवं औद्योगिक प्रविधि र वस्तुहरुको प्रदर्शनी गरिने छ । प्रदर्शनीस्थलमा कारोबार योग्य वस्तुहरुलाई अलग–अलग पेभिलियनमा राखिने भएको छ ।

औद्योगिक उत्पादन, अटो, व्यापार, घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय उत्पादनका सामग्री राखिने भएको छ । त्यस बाहेक मेलास्थलमा साँस्कृतिक कार्यक्रमसँगै सौर्य मण्डल अवलोकन गर्ने अवसर समेत दिइने भएको छ । संस्थागत र व्यक्तिगत फर्मले स्टल बुक गरिरहेको जानकारी दिइएको छ ।