विराटनगर । जापान जाने र त्यहीँ काम गर्दै भविष्य बनाउने सपना देखेर एजेन्टलाई ठूलो रकम बुझाएका धेरै युवा यतिबेला पैसा फसेर बिचल्लीमा परेका छन् ।
युवाहरुबाट पैसा असुल्दै ठगीधन्दा चलाउँदै आएका व्यक्तिको धन्दाबाट पीडित भएकाहरुले आफूहरुलाई न्याय दिन राज्य गुहारेका छन् । एकपछि अर्को ठगीधन्दा बाहिर आइरहेको बेला यो प्रकरणमा भने समाजका शिक्षित युवाहरु नै फसेको देखिएको छ ।
मोरङको सुनवर्षी नगरपालिका – ३ भेलाहीका ३६ वर्षीय मदनकुमार राजवंशी पेशाले शिक्षक हुन् । विराटनगरको एक निजी विद्यालयमा पढाउने उनलाई आफ्नै साथीले ठगेका छन् । उनका साथी सुनवर्षी ३ का ३६ वर्षीय अजय राजवंशीले जापानमा मासिक साढे २ लाख रूपैयाँ कमाइ हुन भन्दै लोभ देखाए । जापानको कम्पनीमा ‘म्यानेजर’ पदमा लगाइदिने र त्यसका लागि १६ लाख रुपैयाँ लाग्ने बताए ।
नेपालमा निजी स्कुलमा जसोतसो चलेको रोजगारीभन्दा जापानको अढाई लाखले मदनलाई लोभ्यायो । ऋण काढेर भए पनि जापान जाने निधो गरेका मदनले दुई किस्तामा १६ लाख रुपैयाँ बुझाए । अजयले भने अनुसार फिरोद कार्कीको नाममा गत वैशाख १४ गते ५ लाख र २०६९ भदौ २७ गते रन्जिताकुमारी राजवंशीको नाममा ११ लाख रुपैयाँ मदनले बैंकमा हालिदिए । त्यसको भौचर उनीसँग सुरक्षित छ ।
पैसा बुझाएको केही दिनमा उनलाई ‘भिसा’ पनि आयो । ढिलोमा कात्तिकसम्ममा जापान पठाउने बाचा अजयले मदनसँग गरेका थिए । तर, अजयले दिएको समय तीन पटक स¥यो, उनी जापान जान पाएनन् । फेरि मंसिर अन्तिसम्ममा लैजाने प्रतिवद्धता आयो, यो भाखा पनि स¥यो ।
अहिले भने अजय आफै बेपत्ता छन् । अजय बेपत्ता हुँदा मदनको जापान जाने र पैसा कमाउने सपना मात्रै बिथोलिएको छैन, ऋणमा लिएको पैसा पनि डुबेको छ । उनको हातमा आइपुगेको भिसा पनि नक्कली भएको पुष्टि भएको छ । ‘ज्यादै नराम्रोसँग फसियो’, मदन अहिले भन्दैछन् ‘हामी ठगीमा पर्यौं । हामीलाई राज्यले न्याय गरिदिनुर्छ ।’
मोरङ कटहरी–३ हल्दीबारीका ३६ वर्षीय विवेक राजवंशीले मासिक चार लाख रुपैयाँ कमाई हुने आश्वासन उनै अजयबाट पाएका थिए । त्यही आकर्षक कमाइ सम्झेर उनले १८ लाख रुपैयाँ अजयलाई बुझाएका थिए । चार किस्तामा उनले १८ लाख रुपैयाँ अजयले भनेको व्यक्तिको नाममा बैंकमा जम्मा गरेका थिए । स्नात्तक उत्तिर्ण विवेकलाई पनि जापानमा म्यानेजरकै रुपमा पठाउने अजयले भनेका थिए । ‘जग्गा धितो राखेर ऋण खोजेर पैसा बुझाएँ’ उनले भने, ‘अहिले आएर बिदेश पठाउने अजय सम्र्पकविहीन भएको छ ।’
झापा कनकाई–१ का भवानीप्रसाद अधिकारीले पनि जापान जानलाई आठ लाख रुपैयाँ बुझाएको बताए । ऋण काढेर बुझाएको पैसा कसरी फिर्ता ल्याउने र कसरी ऋण तिर्ने भन्ने चिन्ताले उनलाई अहिले सताएको छ ।
मदन, अजय र भवानी वैदेशिक रोजगारका नाममा ठगिएका प्रतिनिधि पात्र हुन् । बिहीबार विराटनगरमा जापान पठाउने नाममा ठगिएका ४१ जना युवाले पत्रकार सम्मेलन गरी आफूहरू ठगिएको बताएका छन् ।
मोरङका ४० र झापाका एक जना गरी ४१ जना युवाहरूबाट मोटो रकम लिएर अजयसहित उनका भाइ रन्जित, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारी फरार छन् । उनीहरूले ४१ जना युवाहरुको ३ करोडभन्दा बढी रकम लिएका छन् । पीडित युवाहरू न्यायको लागि हारगुहार गर्दै प्रहरी प्रशासनदेखि रोजगार विभागसम्म पुगेका छन् ।
चितवनका राजेन्द्र, मोरङ सुनवर्षी–६ का अजय ठगी धन्दा चलाउने गिरोहका मुख्य नाइके रहेको उनीहरुले बताए । राजेन्द्र र अजय जापानको गार्मेन्ट उद्योगमा काम पनि गरेर फर्किएका थिए । यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङ र झापाका युवाहरुलाई ठगी गरेका हुन् । मोरङबाट अजयको सम्पर्कमा भएका ४० जना नै राजवंशी समुदायका छन् ।
मुख्य योजनाकार भनिएका राजेन्द्र अजयले उठाएको रकम लिएर पुनः जापान गएको खुलेको छ । अजयसहित उनका भाइबुहारी रन्जित–अनुराधा र बहिनी विद्या फरार छन् । उनीहरुले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्र अधिकारीविरुद्ध उजुरी दिएका छन् । विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्राचार गरेको छ ।
पैसा बुझाएका र पैसा बुझाउन आग्रह गर्नेहरु एकैपटक अधिकारीसहितको जालमा फसेपछि अहिले मोरङको दक्षिणवर्ती क्षेत्रका युवाहरुको बिजोग भएको छ । बारम्बार कानुनी उपचारको खोजीमा रहेका उनीहरुले अजयसहित उनका भाइबुहारी र बहिनीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । त्यसका आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयमा व्यक्ति उपस्थित गराउन निर्देशन भएको छ ।
वैदेशिक रोजगारको क्रममा ठगिएका युवाहरुले विभिन्न निकायहरु जाँदा पनि न्याय पाउन ढिलो भएको गुनासो गरेका छन् । मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ । एकै व्यक्तिबाट धेरै जना ठगिएका उजुरी आउने क्रम बढेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जानकारी दिए । रोजगारको क्रममा ठगिएको उजुरी आए वैदेशिक रोजगार ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरेर कारवाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

