विराटनगर । सुनसरीको बर्जु गाउँपालिका ६ स्थित चिमडीको बर्जुतालमा आयोजना गरिएको १२ दिने बर्जू महोत्सव सम्पन्न भएको छ । तालको एक नम्बर गेटमा पुस २२ गतेबाट सुरु भएको बर्जू महोत्सव बुधबार सम्पन्न भएको हो ।
महोत्सवमा भारतको बिहार राज्यको भोजपुरी भाषाका फिल्म सुपर स्टार खेसारीलाल यादव सहितको प्रस्तुतिरहेकाले महोत्सव अवधिमा तीन लाख बढी आन्तरिक र भारतीय पर्यटकहरूले अवलोकन गरेका थिए ।
स्थानीयस्तरमा पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यसाथ गरिएको महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनसँगै प्रत्येक दिन विभिन्न कलाकारको प्रस्तुति र खेलकुदले बर्जू महोत्सव जाडोमा पनि दर्शकलाई तताएको थियो । मंगलबार भोजपुरी कलाकार खेसारीलाल यादवको बेजोड प्रस्तुति रहेको बर्जू सामुदायिक विकास केन्द्रका अध्यक्ष श्रवण चौधरीले जानकारी दिए । चौधरीका अनुसार भोजपुरी कलाकार यादव आउने भएपछि महोत्सव स्थल प्रवेश गर्नको लागि प्रवेश शुल्क पाँच सय रुपियाँ पु¥याएको विवादमा सामान्य झडपसमेत भएको थियो ।
महोत्सवमा १० करोड बढीको कारोबार भएको आयोजकले जनाएको छ । अघिल्ला महोत्सवमाभन्दा यस वर्ष दर्शक संख्या उल्लेख्य भएको आयोजकले जनाएको छ । लाखौँको सङ्ख्यामा बढेको आयोजकको भनाइ छ । महोत्सवमा ५० स्टल रहेको थियो । सुनसरी सदरमुकाम इनरुवादेखि १८ किलोमिटर दक्षिण पूर्व र मोरङको विराटनगर बरगाछीचोकदेखि करिब ९ किमी पश्चिममा पर्ने बर्जू ताललाई आन्तरिक तथा बाह्य पर्यटक माझ चिनाउन बर्जू महोत्सव आयोजना गरिएको बर्जू महोत्सव आयोजक कमिटीका अध्यक्ष चौधरीले जानकारी दिए ।पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि प्रचार– प्रसारको अभावले ओझेलमा परेकाले यस क्षेत्रलाई चिनाउन बर्जुतालमा महोत्सवको आयोजना गरिदैआएको बर्जूका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीले बताए ।
गाउँपालिका अध्यक्ष जिवछ रायले तालमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको अवलोकनका साथै वनभोज खाने र रमाइलोका लागि बोटिङ र बालबालिकाका लागि फनपार्क समेतको व्यवस्था रहेकाले यसको प्रचारप्रसार आवश्यक रहेको बताए ।

