विराटनगर । आइतबार बिहान पोखराको सेती खोंचमा यति एयरलाइन्सको जहाज दुर्घटनामा पर्दा जहाजको को–पाइलट रहेकी अञ्जु खतिवडा विराटनगरकी भएको खुलेको छ ।

यति एरको एटिआर ७२ विमान ६८ जना यात्रु बोकेर पाइलट कमल केसीले उडाउँदा को–पाइलट खतिवडा थिइन् ।

को–पाइलट अञ्जु जहाज दुर्घटनाले दिएको पारिवारिक वियोगपछि पाइलट पढेकी थिइन् । विराटनगर ५ घर भएकी अञ्जुले भारतबाट प्लस टु गरेकी थिइन्।

सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा उनका श्रीमान् दीपक पोखरेललेको निधन भएको थियो। विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार पोखरेलको निधनपछि नै अञ्जुले अमेरिका गएर पाइलट पढेकी थिइन्।

‘उहाँका बुवाले पहिला ज्वाइँ पनि जहाज दुर्घटनामा बित्नुभयो, आज छोरीको पनि दुर्घटना भयो भन्नुभयो,’ न्यौपानेले भने। अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएकी थिइन्। जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन्। स्रोतका अनुसार उनी २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए।

यति एयरलाइन्सका अनुसार अञ्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी थिइन्। आज प्रशिक्षक पाइलटको रुपमा रहेका केसीले अञ्जुलाई क्याप्टेनमा पास गराउने अन्तिम उडान गराइरहेका थिए। उनले क्याप्टेन क्लियरेन्सको प्रमाणपत्र पाउने उडान दुर्घटनामा परेको हो ।

काठमाडौंको बुढानिलकण्ठका बासिन्दा केसीले पाइलट कोर्स सकिएलगत्तै केही वर्ष नेपाल एयरलाइन्समा काम गरेका थिए। त्यसपछि उनी जागिरका लागि भारत गएका थिए। यति एयरलाइन्समा उनले १५ वर्षअघि जागिर सुरू गरेका थिए। दुर्घटनामा परी अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ ।