विराटनगर । सीता एयरले सातामा तीनदिन काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडानको कार्य तालिका बनाइरहेका बेला नेपाल एयरलाइन्सले पनि काठमाडौं–ताप्लेजुङ बाहेक ताप्लेजुङ–विराटनगरको उडान गर्ने तयारी गरेको छ ।
नेपाल एयरलाइन्सका ताप्लेजुङस्थित स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूले यही साता भित्र हप्तामा कम्तीमा एक दिन ताप्लेजुङ–बिराटनगर उडान भर्ने गरी तालिका बनिरहेको जानकारी दिए । प्रदेश राजधानीलाई लक्षित गरी कम्तीमा सातामा एक दिन ताप्लेजुङ–बिराटनगर उडान गर्ने तालिका बनिरहेको लिम्बूले जानकारी दि ए। ‘ठ्याक्कै सेड्युल त आएको छैन, तर ताप्लेजुङ–बिराटनगर उडानको तालिका बनेर तत्कालै आउनेवाला छ’ लिम्बूले भने ।
इलामको सुकिलुम्बा विमानस्थलबाट समेत नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले उडान भर्ने तालिकसंगै ताप्लेजुङ–बिराटनगर उडानको समेत तालिका तयार हुन लागेको उनले जानकारी दिए । अहिले नेपाल एयरलाइन्सले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भर्दै आएको छ । ताप्लेजुङको सुकेटार विमानस्थलमा सीता एयरले माघ ४ गतेबाट काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भर्ने तयारी गरेको छ । यस पहिले सीता एअरले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्दै आएकोमा विगत केही समय देखि सो उडान हुन छाडेको थियो ।
यसैगरी बुद्ध एयरले माघ ६ गतेबाट काठमडौं–तुम्लिङटार एटीआर–७२ सिरिजको जहाजमार्फत उडान गर्ने भएको छ । हाल एटीआर–४२ सिरिजको जहाजमार्फत उडान गरिरहेको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएसँगै एटीआर–७२ बाट उडान गर्न लागेको हो ।
ठूलो जहाजमार्फत सेवा सुरु भएसँगै भाडादर सस्तिने कम्पनीका सुचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । अधिकतम एकतर्फी भाडादर सात हजार छ सय ९५ रुपैयाँ रहेकोमा अब सुरुवाती भाडादर ५५ सय रुपैयाँ पर्ने उनको दाबी छ । साताको सातवटा उडान गर्दै आएको कम्पनीले एटीआर–७२ मार्फत प्रत्येक उडानमा सुरुमा ६५ जना यात्रुलाई सेवा दिने उनले बताए । गत वर्ष जेठमा कम्पनीले एटीआर–७२ मार्फत परिक्षण उडान गरेको थियो ।

