काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने भोलिमात्र रिहा हुने भएका छन् । उनलाई उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको थियो ।
अदालतले २० लाख धरौटीमा छोड्न आदेश दिएको र शुक्रबार धरौटी राखेर निस्किने उनका कानुन व्यवसायी अधिवक्ता रोजकृष्ण घिमिरेले जानकारी दिए ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त बन्द इजलासले लामिछानेलाई विदेश जान पनि रोक लगाएको छ ।
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरेपनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनलाई गएको कात्तिक १८ मा थुनामा पठाउन आदेश दिइएको थियो ।
लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो । प्रहरीले गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

