विराटगनर । नेपालबाट युरोपका कतिपय देश र अमेरिकामा छुर्पीको माग बढिरहेको छ । नेपाली उत्पादनको निर्यातको सूचिमा नेपाली छुर्पीको अवस्था उत्साहजनक रुपमा वृद्धि भइरहेको छ ।
विशेषगरी पूर्वी नेपालको उत्पादनको रुपमा रहेको छुर्पीको निर्यातले यस क्षेत्रका कृषक र कृषि उद्यमीहरुमा सकारात्मक उर्जा पैदा गराएको छ । प्रदेश नम्बर १ को इलाम, पाँचथर लगायतका जिल्लामा छुर्पीको बढी उत्पादन हुने गरेको छ । त्यसबाहेक बागमती प्रदेश र गण्डकी प्रदेशमा पनि छुर्पी उत्पादन हुने गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार विगत पाँच वर्षमा आठ अर्ब एक करोड रूपैयाँको छुर्पी विदेश निर्यात भएको हो ।विदेशमा कुकुर र बिरालोको खानाको रूपमा छुर्पी निर्यात हुने गरेको छ । अमेरिका, क्यानडा, बेलायत, सिंगापुर, मलेसिया लगायतका २७ देशमा अहिले कुकुर र बिरालोको खानाको रूपमा छुर्पी गइरहेको छ ।
अहिलेसम्म छुर्पीको सबैभन्दा धेरै निर्यात अमेरिकातर्फ हुने गरेको छ । निर्यात हुने छुर्पीमध्ये अमेरिकातर्फ लगभग ८३.९६ प्रतिशत जाने गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा कुल दुई अर्ब ९१ करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भएकोमा अमेरिकातर्फ मात्रै दुई अर्ब ४४ करोड रूपैयाँ बराबरको निर्यात भएको छ । अहिलेसम्म अमेरिकातर्फ मात्रै छुर्पीको माग धेरै छ, साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इनभाइरोमेन्ट (सावती)का शोधकर्ता निलु थापाले भनिन्, ‘त्यसैले विकल्पहरू नखोजिने हो र केही कारणले त्यहा माग घटेको अवस्थामा यो क्षेत्र धराशायी हुनेछ ।’
अमेरिकापछि अधिक छुर्पी निर्यात हुने मुलुकमा क्यानडा रहेको छ । क्यानडामा वार्षिक करिब ३१ करोड रूपैयाँ बराबरको छुर्पी गइरहेको छ ।
चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्ममा) भने एक अर्ब १० करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भएको छ ।गत वर्षको यही अवधिको तुलनामा भने यो १० प्रतिशतले वृद्धि भएको हो । यो अवधिमा अमेरिकातर्फ मात्रै ९२ करोडको छुर्पी गएको हो ।
चिया निर्यातलाई उछिन्दै !
विगत पाँच वर्षमा नेपालबाट निर्यात हुने चियाबाट मुलुक भित्रिएको रकम छुर्पीको निर्यातबाट भित्रिएकोभन्दा दोब्बर छ ।पाँच वर्षको अवधिमा नेपालबाट १५ अर्ब ४९ करोड रूपैयाँको चिया निर्यात भएको छ । यो अवधिमा मात्रै आठ अर्ब एक करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भयो ।
तर, छुर्पी निर्यातको वार्षिक वृद्धिदर उच्च छ । पाँच वर्षमा छुर्पी निर्यात औसत ३६ प्रतिशतले वृद्धि हुँदा चियापत्तिको वृद्धिदर १४ प्रतिशतमा सीमित छ ।
गत आर्थिक वर्ष २०७८/७९ भरीमा तीन अर्ब ४३ करोड रूपैयाँ बराबरको चियापत्तीको निर्यात भएकोमा छुर्पी निर्यात दुई अर्ब ९१ करोड रूपैयाँ छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!