लोड हुँदैछ...

मेनु

विश्वलाई जंगलको अल्लोले दियो न्यानो

विश्वलाई जंगलको अल्लोले दियो न्यानो

विराटनगर । संखुवासभाकै विकट मानिने सभापोखरीबाट छोरालाई पढाउन भनेर उत्तरकुमारले लिम्बुले छोरा विश्व खादवारी ल्याएका थिए ।
विश्वलाई उच्च शिक्षा पढाएर सरकारी जागिरे बनाउने लक्ष्य बुवा उत्तरकुमारको थियो । आफुले दुख गरेर भएपनि छोरालाई उनले राम्रै स्कुलमा पढाएका थिए ।
सरकारी जागिरे बन्ने र बनाउने लक्ष्य दुवै जनाको अहिलेसम्म पूरा भएको छैन । बुवा उत्तरको २०६४ सालमा निधन भयो । खोल्साको ‘कालो सुन’ भनेर चिनिने अलैंचीको खेती र व्यापार गर्ने उत्तरकुमार जेठा छोरा विश्वलाई खाँदवारीमै छाडेर दशैैंतिहार मनाउन घर सभापोखरी गएका थिए । घर गएको २ दिनमै बुवा बितेको खबर आएपछि बुबाले देखेको सपना पुरा गर्न उनलाई पनि निकै कठिन पर्न थाल्यो ।

बुवाको निधन भएपछि सबै जिम्मेवारी विश्वको काँधमा थपियो । बुवाले गरेको खेतीदेखि भाइबहिनीको पठनपाठनको जिम्मा समेत उनको काँधमा आयो । उनी त्यतिबेला १६ वर्षका थिए । पढ्ने र आफ्नो ‘करिअर’ बनाउने उमेरमा घरव्यवहारको बोझ थाम्नुपर्ने भएपछि उनले बुवाले गरेको व्यापारलाई निरन्तरता दिने सोच बनाए । बुबा उत्तर कुमार अलैंचीको व्यापार गर्थे ।
उनले लगातार १२ वर्षसम्म अलैंचीको व्यापार गरे । अलैचिको उत्पदान तथा व्यपारमा भारी गिरावट आएका कारण धेरै अअलैंची व्यापारीले घाटा सहनु परेको थियो । २०७० यता बजारमा अलैचिको व्यापारमा उतार चढाव हुँदै आएको छ ।

अन्तिमका ३ वर्ष अलैंचीको व्यापारले उनलाई घाटा लगायो । करीब ५० लाखभन्दा बढी घाटा लागेको उनले बताए । अलैंचीको व्यापार लगातार ओरालो लाग्न थालेपछि विश्वले खाँदवारीस्थित आफ्नै घरमा होटल सञ्चालन गर्न थाले । होटल पत्नी सविनाले चलाउँथिन् । विश्वलाई व्यापार गर्न साथीभाइले ऋण पनि पत्याउन गाह्रो मान्न थालिसकेका थिए । उनलाई अलैंचीको व्यापार गर्ने जोश भने हराएको थिएन । उनले आफैले पनि अलैचिको खेति गर्ने गरेका थिए ।

खाँदवारीको घरनजिकै १ जना महिलाले सञ्चालन गरेको अल्लोका कपडाको घर थियो । त्यो नन्दा राईले सञ्चालन गरेको कपडा पसल थियो । तिनै नन्दाले विश्वलाई भदा भन्थिन् । ‘अलैंचीको व्यापारमा घाटा भएपछि फुपूले मलाई सँगै मिलाएर यही व्यापार गरौं भनेर कर गर्नुभयो,’ विश्वले भने, ‘तर मेरो अलैंचीको व्यापार गर्ने रहर हटेको थिएन । पैसा अभाव भएपछि विकल्प नभएर उहाँसँगै मिलेर व्यापार शुरू गरें ।’ नन्दा एकल महिला हुन । विश्वका लागि नन्दा अविभावक जस्तै थिइन ।

अल्लोको व्यापारमा लागेका विश्वले ३०– ३५ जना महिलालाई रोजगारी दिएका छन् । तिनै महिलाले बुनेको कपडा उनले बेच्छन् । महिलाहरूले घरघरमै तान राखेर कपडा बुनेर विश्वलाई दिने गरेका छन् । ‘कच्चा पदार्थ म उहाँहरूलाई दिन्छु,’ उनले भने, ‘उहाँहरूले कपडा बुनेर मलाई दिनुहुन्छ ।’ अल्लोको कपडा बुन्ने महिलाले २५ हजार रुपैयाँसम्म मासिक कमाउने गरेका उनले बताए । पति विदेश हुनेहरूले घरमै कपडा बुनेर घर खर्च पुर्‍याउने गरेको विश्वले बताए ।

विश्वको कोसेली घरमा हस्तकलाका सामग्रीहरू, अल्लोका कपडा, अल्लोबाट निर्मित सामग्रीहरू जुत्ता, चप्पल, झोला, थैली, कोट, चैन पुरे करुवा, बाँसबाट निर्मित सामग्रीहरू बिनायो, काइँयो, चमर, राडी, ढाका टोपी, रुद्राक्षको माला, खाडीका कपडाहरू पाइन्छन् ।

घरेलु तथा साना उद्योग विकास समिति संखुवासभाले ३ लाख र डिभिजन वन कार्यालय संखुवासभाले २ लाख रुपैयाँ ऋण उपलब्ध गराएका थिए । उनले अल्लोको पसल शुरू गर्दा २० हजार रुपैयाँ लगानी गरेका थिए । उनले उत्पादन गरेका अल्लोको कपडा भने तेस्रो देशमा निर्यात हुने गरेको छ । अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशमा कपडा जाने गरेको छ । भारतमा बढी बिक्री हुने गरेको छ ।

नेपालमै माग बढी भए पनि पुर्‍याउन समस्या भएको उनले बताए । अल्लोको कपडालाई सोखी कपडा भनेर पनि चिन्ने गरिन्छ । सोखिन भएकाले पनि बजारमा माग बढी रहेको विश्वको भनाइ छ । कोसेली घरमा राखिएका सामग्रीहरू अन्य जिल्ला र विदेशी पर्यटकहरूले संखुवासभाको चिनो स्वरूप लैजाने गरेका छन् ।

जंगलको कोलाने सुनले आफूलाई पाले पनि अल्लोले न्यानो दिइरहको उनले बताए । चिसोमा न्यानो र गर्मीमा चिसो हुने विशेषताका कारणले पनि अल्लोको माग बढी रहेको उनले बताए । जंगलबाट संकलन गरेर ल्याएको काँचो अल्लोलाई सुकाउने, खरानी पानीमा पकाउने, कुट्ने, सफा तरिकाले धुने, कमेरो लगाएर घाममा सुकाउने र सुकेको अल्लोबाट भुवा निकालेर बनाइएको धागोको प्रयोग गरी कपडा बनाउने गरिन्छ । संखुवासभा अल्लोको कपडाका लागि प्रख्यात समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।