लोड हुँदैछ...

मेनु

विराटनगरमा ठगीधन्दा

जग्गाधनीलाई थाहै नदिई १७ धुर अर्कैको नाममा पास

जग्गाधनीलाई थाहै नदिई १७ धुर अर्कैको नाममा पास

विराटनगर । ठगीधन्दाका अनेक घटना सार्वजनिक भइरहेका बेला विराटनगरमा यस्तो प्रकरण भेटिएको छ, जहाँ करोड मूल्य पर्ने जग्गा जग्गाधनीलाई सुइँकोसमेत नदिइ अर्कैको नाममा पास गरेको भेटिएको छ ।

विराटनगर १२ रानीसिञ्चाइका ६४ वर्षीय लखनलाल मण्डल धानुकको झण्डै एक करोड पर्ने १७ धुर जग्गा उनलाई थाहै नदिई अर्कै व्यक्तिको नाममा पास गरेको पाइएको हो । सहकारी संस्थामा धितो राखेको ११ (क) ५४५ किता नम्बर रहेको १७ धुर जग्गा मण्डललाई थाहै नदिइ विराटनगर १३ घर भएकी ३७ वर्षीया सृजना खातीको नाममा २०७६ माघ १९ गते पास भएको पाइएको छ ।

मण्डलले २०६८ सालमा विराटनगर १२ मा रहेको साविकको न्यू जनता बचत तथा ऋण सहकारी र हालको नेपाल सहकारी संस्थामा ६८ हजार रुपैयाँ कर्जा लिएका थिए । उनलाई त्यसबेला सहकारीका प्रबन्धक रहेका राजु शर्मा घतानीले ऋण दिलाइदिएका थिए । मण्डल पेटको विरामी भएपछि ब्याजमा राजु आवद्ध भएको सहकारीमा जग्गा धितो राखेर ऋण लिएका थिए । ६८ हजारको साँवा र ब्याज गरी मण्डलले विभिन्न मितिमा ६ लाख रुपैयाँ राजुलाई बुझाएका छन् । तर, मण्डलले बुझाएको पैसा राजुले सहकारीमा जम्मा गरिदिएनन् । लेखपढ नगरेका मण्डलले विश्वास गरेर राजुलाई बुझाएको पैसाको भौचर पनि नलिएको उनले बताए । मण्डलको घरबाट राजुको घर तीन सय मिटर दक्षिणमा पर्दछ ।
उनीहरूको घरमा आवतजावत नियमित जस्तै हुने गथ्र्योे । राजुले मण्डललाई मितबावु भन्ने गरेका थिए । मण्डलको जेठा छोराको नाम पनि राजु हो । त्यही भएर मण्डललाई मितबावु भनेर सम्बोन्धन गर्थे । राजुको विश्वासमा परेका मण्डलले आफ्नो नाममा भएको जग्गा उनले थाहै नपाइ श्रीमतीको नाममा पास गरिदिए । मण्डललको नामको जग्गा राजुले श्रीमती सृजना खातीको नाममा पास गरेका हुन् ।

विराटनगर १२ मा मण्डलको जग्गा भएको ठाउँमा धुरको ६ लाखले जग्गाको कारोबार हुने गरेको छ ।सहज रुपमा ऋण पाएपछि मण्डलले राजुलाई विश्वास गरेका थिए । सिटी चलाएर आम्दानी भएको र छोराले विदेशबाट पढाएको पैसा मण्डलले पटकपटक गरी ६ लाख रुपैयाँ राजुलाई बुझाएका थिए ।
‘ऋण लिएको पैसा बुझाएपछि २०७६ माघ १९ गते राजुले जग्गा मेरो नाममा पास गरिदिने भनेर विराटनगर मालपोत कार्यालय लिएर गयो । उसले जे– जे भन्यो त्यही अनुसार मैले सही र ल्याप्चे पनि लगाइदिएँ । लेखपढ राम्रो सँग गर्न आउँदैन । त्यसैको फाइदा उठाउँदै राजुले आफ्नो श्रीमतीको नाममा जग्गा पास गरिदिएछ,’ मण्डलले सुनाए ।

जालझेल गर्न चतुर राजुले आफ्नो श्रीमतीको नाममा जग्गा पास गरेकै दिनमा २८ लाख रुपैयाँमा १७ धुर जग्गा किनेको देखाउन मण्डलको नाममा नबिल बैंकमा खाता खोलिदिएको पनि खुलेको छ । सन् २०२० फरवरी ३ तारिखमा लखनलाल मण्डलको नाममा नबिल बैंकमा खाता खोलेको देखिएको हो । उक्त खाता खोलेको दिन जग्गा किनेको देखाउन सृजना खातीले २८ लाख रुपैयाँ जम्मा गरेको देखिएको छ ।

जम्मा गरिएको दिन आरती चौधरीको नाममा ७ लाख, ६ लाख र ७१ हजार ५ सय रुपैयाँ चेक काटेर झिकेको बैंक स्टटमेन्टमा देखिन्छ । खाता खोलेको दिन १३ लाख ७१ हजार ५ सय रुपैयाँ झिकेका छन् ।खाता खोलेको दोस्रो दिन २०२० फरवरी ४ का दिन लखनलाल मण्डलको नाममा ७ लाखको चेक बेन्जु ताम्रकारले भजाएको देखिएको छ । सोही दिन अर्को ७ लाखको चेक लखनलाल मण्डलकै नाममा काटेर पीन्टु कुमार ठाकुरको नाममा साटेको बैंक स्टेटमेन्टमा देखिन्छ ।

मण्डलको खाताबाट झिकेको रकम राजु र सृजनाले दिएको खुलेको छ । अहिले मण्डलको खातामा १७ हजार २ सय ४८ रुपैयाँ मौज्जात देखिन्छ । पैसा झिक्नेहरू सृजना र राजु आवद्ध भएका सहकारीका कर्मचारीहरू हुन् । उनीहरूले बयानको क्रममा उक्त रकम राजु र सृजनाले चेक काटेर दिएको बताएका छन् ।

‘जग्गा आफ्नो नाममा आउने भनेपछि राजु र सृजनाले भने अनुसार बैंकमा गयौं । त्यहाँ पनि मालपोतमा जसरी कागजपत्रमा सही गर्न लगाए । उनीहरूले भनेअनुसार गर्दै गएँ । अहिले आएर थाहा पाएँ २८ लाखमा जग्गा बचेको भनेर कागज मिलाएको रहेछ’ मण्डलले भने, ‘मैले २८ लाख देख्नै पाएको छैन । कहाँबाट मैले दुःख गरेर आर्जेको जग्गा बेच्छु । जग्गाको नाममा त्यही एक टुक्रा छ । जस्तापाताको छानो हालेर जग्गामा हामी ९ जनाको परिवार ओत लागेर बसेका छौं । त्यो जग्गा बेचेर हामी कहाँ बस्नु ?’

जालजेल गरेर मण्डलको नामको जग्गा आफ्नो पत्नीको नाममा पास गरेको दुई वर्षपछि राजुको २०७८ पुसमा मृत्यु भएको थियो ।

जालझेल गरेर आफ्नो जग्गा अर्कै व्यक्तिको नाममा परेपछि लखनलाल मण्डलले न्यायको लागि हारगुहार गरेका छन् । मण्डल आफ्नो नाममा जग्गा फिर्ता ल्याउन दैनिकजसो विराटनगर महानगरपालिकाको न्यायिक इजालासमा पुग्ने गरेका छन् । उनले जालझेल गरेर मण्डलको नामको जग्गा आफ्नो नाममा ल्याउने सृजना खाती र विराटनगर १२ मा रहेको नेपाल सहकारी संस्थाको तर्फबाट अख्तियार प्राप्त संस्थाका सचिब ४० वर्षीय निर्मल कुमार दाहललाई प्रतिवादी बनाएर न्यायिक समितिमा निवेदन हालेका छन् ।

‘जालझेल गरेर म जस्तो लेखपढ गर्न नजान्ने मान्छेलाई फँसाए । ९ जनाको परिवार ओत लागेको जग्गा जसरी पनि आफ्नो नाममा ल्याउन पहल गरिदिनुहोस्,’ मंगलबार दिउँसो न्यायिक इजालासमा गहभरी आँसु पार्दै मण्डलले भने ।

महानगरको न्यायिक समितिले लखनलाल मण्डल ठगीमा परेको भन्दैमोरङ प्रहरीलाई काम कारवाही अगाडि बढाउन पत्राचार गरेको छ ।
न्यायिक समिति प्रमुख विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, सदस्यहरू रुपा पाण्डे देउवा र तिर्थेन्द्र न्यौपानेको इजालासले सोमबार यस्तो आदेश गरेको हो ।

‘यसरी विपक्षी सृजना खाती समेतले आफ्नो पति राजु शर्मा घतानीसंग मिली एक सिधासाधा गरिब र बृद्ध व्यक्तिलाई विश्वासमा पारेको देखियो । अब कानूनी रुपमा हेर्दा कूनै पनि व्यक्तिलाई फकाई झुक्याई वा अन्य कूनै किसिमले धोका दिई कुनै काम गरी गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई वेइमानीपूर्वक कुनै किसिमको हानी नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा कसैको लागि लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ भनी मूलूकी अपराध संहिता २०७४ को दफा २,४,९ को उपदफा (२) को (१)मा उल्लेख गरेको देखिन्छ । निज प्रतिवादी समेत मिली माथी उल्लेखित गरिएको परिभाषामा नै एक सिधा इमान्दार, व्यक्तिवादीलाई उपरोक्त परिभाषा भित्रकै कार्य गरी वादीले ६८ हजार कर्जा लिएकोमा सृजना खातीको नाममा पास गरी २८ लाख नविल बैंकमा जम्मा गरी निज वादीको नामको खाली चेकमा निजलाई फकाई, झुक्याई सही गराई उक्त चेक प्रतिवादी समेतले आफ्नो नियन्त्रणमा लिई वादीको नामको चेकवाट नै प्रतिवादी समेत भई आफूले खाएको ऋण चुक्ता गर्न उल्लेखित कार्य गरेको नविल बैंकको स्टेटमेन्ट र वेन्जु ताम्राकार पिन्टु कुमार ठाकुरले यस न्यायिक समितिमा आई गरेको वकपत्र समेतवाट पुष्टि हुन आयो,’ आदेशको तथ्य खण्डमा भनिएको छ, ‘ठगी मुद्दा न्यायिक समितिको क्षेत्राधिकार भित्र नपर्ने हुँदा उक्त मुद्दा चलाउने क्षेत्राधिकार मोरङ प्रहरीलाई छ । मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ को ठगी अपराधिक लाभ कसुरको दफा २४९ को सृजना खाती समेतलाई पक्राउ गरी कारवाहीको प्रक्रिया अगाडि बढाउनुहुन जिल्ला प्रहरी कार्यालय मोरङलाई सक्कल मिशिल पठाइदिनु ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।