विराटनगर । ‘आतंकवादको अन्त्य बन्दुकले होइन, शिक्षाले हुनुपर्छ ।’ यही नाराका साथ विश्वका अविकसित र अल्पविकसित मुलुकको शिक्षा क्षेत्रमा व्यापक सुधारको बहस गरिरहेका छन् विराटनगरका अभिषेक घिमिरे । हालसम्म उनले नेपालमा ५० हजार बढी शिक्षकलाई शिक्षण सिकाइबारे तालिम दिएका छन् भने लाखौं अभिभावकसँग अन्तरक्रिया गरेका छन् ।
विराटनगर स्थायी घर भएका घिमिरे नेपालमा मात्रै होइन, विश्वका धेरै मुलुकहरुको शिक्षा क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने वकालत गरिरहेका छन् । उनी आफ्नो देश नेपालमा मात्रै होइन अन्तराष्ट्रिय फोरमहरुमा पनि व्यापक सहभागी भएका छन् । उनै घिमिरे आफैं नेतृत्व गर्दै विश्वका २० हजारबढी शिक्षा सुधार अभियान्ताहरुको भेला नेपालमै गर्न चाहन्छन् ।
धनी राष्ट्रहरुको शिक्षा नीति कपि गरेर नहुने तर, उनीहरुले सुरुवाती फेजमा गरिएको संघर्ष र त्यसपछिको प्रक्रियालाई अंगाल्नुपर्नेमा उनको जोड छ । ‘नेपालको कर्णालीमा शिक्षाको स्टाटस जहाँको त्यहीँ छ । तर, एनजिओ, आइएनजिओहरुले सुधार गरेको रिपोर्ट सरकारलाई दिएर खाइरहने गरेका छन्,’ उनी भन्छन्, ‘मधेश प्रदेशमा पनि अहिले त्यही अवस्था आएको छ ।’ यो परिपाटीलाई अन्त्य गर्नु आवश्यक रहेको उनको भनाइ छ । ‘तपाई संसारका जुनसुकै अविकसित र अल्पविकसित मुलुकहरु जस्तैः सिरिया, अफ्रिकाका कतिपय देशहरु, बंगलादेश, श्रीलङ्कामा पनि शिक्षा क्षेत्र नेपालकै जस्तै समस्याग्रस्त छ,’ उनी भन्छन्, ‘जहाँ आतंकवादको समस्या छ, आतंकवादको अन्त्य बन्दुकले गर्न खोजिन्छ । मेरो विचारमा शिक्षा क्षेत्रमा हुने सुधारबाट मात्रै आतंकवादको अन्त्य हुन्छ ।’
०४१ सालमा खोटाङको दिप्रुङ चुइचुम्मामा जन्मिएका उनी स्थानीय विद्यालयमा ५ कक्षासम्म अध्ययन गरे । त्यसपछि मोरङको डाँगीहाट आएका उनले बेलबारीको एक निजी विद्यालयबाट एसएलसीसम्म अध्ययन गरे । आइएसम्मको अध्ययन सुन्दरहरैंचाको सुकुना क्याम्पसमा गरेका उनले अंग्रेजी विषय लिएर विराटनगरको मेट्रोपोलिस कलेजबाट स्नातक गरेका हुन् । काठमाडौंको आरआर क्याम्पसबाट स्नातकोत्तर गरेका उनी पिएचडी अध्ययनका लागि अन्तिम तयारीमा छन् ।
अध्ययनसँगसँगै विद्यालयको पढाइको विषयमा उनले अध्ययनका लागि झण्डै १२ वर्ष शिक्षण पेशा अंगालेका थिए । अध्ययनका क्रममा उनले विद्यालयको परीक्षा प्रणाली र शिक्षण सिकाई प्रणालीमा समस्या रहेको थाहा पाए । त्यसपछि शिक्षकलाई तालिम दिनुपर्छ भन्ने लागेर विभिन्न तालिम सुरु गरे । यद्यपि विद्यार्थीलाई ३ घण्टा परीक्षा लिएर पास गर्नुपर्ने सिस्टम नै समस्या रहेको कारण उनले शिक्षा क्षेत्रमा सोचेजस्तो परिवर्तन नआउने देखे ।
त्यसपछि उनले नीतिगत परिवर्तनको आवश्यकता महसुस गर्दै ०७४ सालमा वृहत राष्ट्रिय शिक्षा अभियान स्थापना गरे । सोही अभियान मार्फत देशभरका सयौं सामुदायिक विद्यालयमा शिक्षा सुधारको वकालत गर्दै हिंडिरहेका घिमिरे समाजलाई डोहो¥याउने शिक्षा क्षेत्र नै पछि परेको अनुभव गर्छन् । ‘अहिले हामीले बोकेको मोवाइल, हामीले हेर्ने टेलिभिजन, भूगोल तथा विभिन्न क्षेत्र प्रविधिको विकासले १० वर्ष अगाडिभन्दा धेरै भिन्न भइसकेका छन् । तर, शिक्षण सिकाइको तरिका भने सय वर्षदेखि एउटै छ । शिक्षा क्षेत्रको विकास यो तरिकाले कसरी हुन्छ ?,’ उनी भन्छन् ।
यही वकालत गर्दागर्दै उनी हालै अमेरिकाबाट प्रकाशित हुने ‘द इन्साइड सक्सेस’को विशेषांकमा ‘द मस्ट इन्फ्ल्युन्सियल थट लिडर २०२२’ शीर्षकमा विश्वभरिका प्रभावशाली शिक्षा क्षेत्रको व्यक्तित्वमध्ये २० जनामा छानिए । घिमिरेलाई गतवर्ष बेलायतबाट प्रकाशित ‘द एक्सेलिजेण्ट’ नामक पत्रिकाले विश्वभरिका ‘उत्कृष्ट १०० शिक्षाकर्मी’को सूचिमा पनि समावेश गरेको थियो ।
उनले स्थापना गरेको इन्टरनेसनल एसोसिएसन अफ इजुकेसनल लिडर नामक संस्थामा संसारभरका शिक्षा क्षेत्रका २० हजार बढी अभियान्ता जोडिएका छन् । त्यहाँ जोडिएकाहरुबीच जुम मार्फत बैठक तथा छलफल हुने गर्छ । यस्तै अहिलेको शिक्षा क्षेत्रमा भइरहेको नयाँ–नयाँ विकास र शिक्षण सिकाइको विषयमा छलफल हुन्छ । त्यसलाई उनी आफैंले नेतृत्व गरेर टिम निर्माण गरेका हुन् ।अब उनले संयुक्त राष्ट्र संघमा गएर गरिव तथा विपन्न मुलुकहरुको शिक्षा क्षेत्रको परिवर्तनको मुद्दा उठाउने लक्ष्य लिएका छन् । ‘म संयुक्त राष्ट्रसंघको महासभामा गएर बोल्नेछु’, उनको दाबी छ, ‘विश्वका अविकसित र अल्पविकसित मुलुकको शिक्षामा सुधार मेरो मूल एजेण्डा हुनेछ ।’
उनी आतङ्कवादको अन्त्य हतियारबाट नभइ शिक्षा मार्फत हुने बताउँदै गरिब राष्ट्रहरुलाई अनुदानमा झुलाएर तिनलाई लुट्ने काम धनी र शक्तिशाली भनिएका राष्ट्रले गरेको भन्दै त्यसलाई बन्द गर्नुपर्नेमा जोड दिँदै राष्ट्रसंघमा कुरा उठाउने बताउँछन् ।त्यसबाहेक उनले हतियार र युद्धमा लाग्ने खर्च निःशर्त अल्पविकसित राष्ट्रको शिक्षामा खर्च गर्नुपर्ने, आतंकवादको अन्त्य बन्दुकले होइन, शिक्षाले हुनुपर्ने, आतंकवाद र युद्धको जन्म भनेकै भोकमरी, गरिबी र आत्मसम्मान भएकोले यसको समाधान शिक्षाबाट मात्रै हुनेमा जोड दिने योजना बनाएका छन् ।
उनी आफ्नो अभियान मार्फत शिक्षा क्षेत्रमा लागेका विश्वका अभियान्तालाई नेपालमै भेला गराएर सामुदायिक विद्यालय सुधारको लागि संसारलाई सन्देश दिने सोच बनाएका छन् । इन्टरनेसनल एसोसिएसन अफ इजुकेसनल लिडर अभियानमा सो विषयमा छलफल भइरहेको र नेपाल सरकारले आर्थिक सहयोग गरेको खण्डमा आफू त्यो काम गर्न सक्षम रहेको बताए । अहिलेको पाठ्यक्रम ठिक भएपनि त्यो पाठ्यक्रमअनुसार पढाउने शिक्षकहरुलाई तालिमको व्यवस्था नगरिएको उनको भनाइ छ ।
‘३ घण्टे परीक्षाको तरिका बदल्नु पर्छ । विद्यार्थीको गतिविधि हेरेर विद्यार्थीको मूल्यांकन गर्नुपर्छ’ भन्ने मान्यता राख्ने घिमिरेको अध्ययनमा विद्यालय सफल बनाउन विद्यालयमा शतप्रतिशत विद्यार्थी उपस्थिति गराउनुपर्नेमा जोड दिन्छन् । यस्तै शिक्षकलाई समयमै विद्यालयमा जाने बनाउने, विद्यालयमा गएर पुरा घण्टी पढाएको छ वा छैन । पढाएको छ भने त्यो सिकाई प्रभावकारी भयो कि भएन भन्ने विषयमा हरेक महिना अनुगमन हुनुपर्ने उनको भनाइ छ । त्यसका लागि समुदायले नै खबरदारी गर्नुपर्ने र समुदायले नै सामुदायिक विद्यालयको अपनत्व लिनुपर्ने घिमिरे बताउँछन् ।




1 प्रतिक्रिया
1 प्रतिक्रिया
Yakdamai ramro
Nepalma biddhyalaya Herne nikayaharuma karyarat jansakti Pani badhaunupar x ,tiniharuko xamata bikash garnupar x
Sabvanda pahila t sixaklai rajnitibat alag rakhansaknupar x
Aam abhivawakko lagi avivawak sixa hunupar x
प्रतिक्रियाहरू बन्द छन्।