विराटनगर ।  आर्थिक चलखेलको कारण विराटनगर १८ मा रहेको सामुदायिक विद्यालयमा रिक्त रहेको शिक्षक नियुक्त निष्पक्ष नभएको भन्दै परीक्षार्थीहरूले पुनः परीक्षा हुनुपर्ने माग राखेका छन् ।

विराटनगर १८ फडानीस्थित श्रीराम आधारभूत विद्यालयमा रिक्त रहेको तीन जना शिक्षक पदपूर्तिको लागि लिएको परीक्षामा आर्थिक चलखेलको कारणले निष्पक्ष नभएको भन्दै पुनः परीक्षा हुनुपर्ने उनीहरूले आइतबार विद्यालय परिसरमा भेला भएर माग राखेका हुन् ।

परीक्षामा सामेल भएका ७ जना र परीक्षा दिन नपाएका १२ जना परीक्षार्थीहरूले शिक्षक पदपूर्तिको लागि मंसिर २२ गते लिएको परीक्षा निष्पक्ष नभएको आरोप लगाउँदै उनीहरूले पुनः परीक्षा हुनुपर्ने माग राखेका छन् । १ सय ४४ जना विद्यार्थी अध्ययनरत रहेको श्री राम आधारभूत विद्यालयमा दुई जना करार र एक जना राहत शिक्षकको दरबन्दी दुई वर्षदेखि रिक्त रहेको थियो ।  उक्त रिक्त रहेको शिक्षकको पदपूर्तिको लागि विद्यालयले शिक्षक आवश्यकताको सूचना जारी गरेको थियो । जस अनुसार २२ जनाले आवेदन दिएका थिए ।

आवेदन दिएका मध्ये १० जना मात्र परीक्षामा सामेल भए । अन्य १२ जनाले विद्यालयले परीक्षाको मिति जानकारी नगराएको कारणले परीक्षाबाट वञ्चित हुनुपरेको उनीहरूको भनाई छ । परीक्षा निष्पक्ष नभएको भन्दै पुनः परीक्षाको माग  परीक्षार्थीहरू रमन यादव, गोविन्द मण्डल, कविता चौधरी, निल कमल कुमारी, विरेस यादव, संन्जिव यादवले राखेका छन् । २२ मंसिरमा रिक्त रहेको शिक्षक पदपूर्तिको लागि लिएको परीक्षा निष्पक्ष नभएकोले पुनः परीक्षा राख्नुपर्ने उनले बताए । ‘शिक्षक पदपूर्तिको परीक्षा विधिसंगत भएको छैन । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष संयोजक रहेर परीक्षा हुनुपर्ने हो । तर, यहाँ भएन,’ परीक्षार्थी विरेस यादवले भने, ‘वडाध्यक्षको संयोजकत्वमा परीक्षा भएको छ । यो विधीसंगत भएन ।’

सुनियोजित तरिकाले रिक्त रहेको पदपूर्तिमा आफ्नो मान्छे शिक्षक नियुक्ति वडाध्यक्षले गरेको आरोप लगाउँदै उनले पुनः परीक्षा हुनुपर्ने माग राखेका छन् । ‘शिक्षा नियमावली अनुसार विधि र प्रक्रिया अनुसार परीक्षा हुनुपर्दछ,’ उनले भने, ‘प्रक्रिया पुरा नगरी भएको शिक्षक नियुक्ति मान्य हुनेछैन । हामीले विज्ञ टोली राखेर निष्पक्ष र भयरहित वातावरणमा परीक्षा हुनुपर्दछ ।’

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शम्भु प्रकाश ऋषिदेव उपस्थिति नभएपछि विराटनगर १८ का वडाध्यक्ष जितचन्द्र कुमार शाहको संयोजकत्वमा परीक्षा भएको थियो । परीक्षाबाट उत्कृष्टको आधारमा एलिना सिंह, सरस्वती राजवंशी र कल्याणी मण्डललाई नियुक्त गरेको छ ।उनीहरू मध्ये सिंह राहतका शिक्षक हुन् भने राजवंशी र मण्डल करारका हुन् । उनीहरूलाई विराटनगर महानगरपालिकाले आइतबार नियुक्त गरेको छ ।

विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाबाट विज्ञ टोली ल्याएर परीक्षा गराएर उत्कृष्ट हुनेलाई नियुक्ति भएको विद्यालयका प्रधानाध्यापक राजीव कुमार यादवले बताए । ‘परीक्षाको मिति तय गरेपछि शिक्षा महाशाखाले उत्कृष्टको आधारमा शिक्षक नियुक्त गरेको हो,’ उनले भने ।

विराटनगर १८ का वडाध्यक्ष जितचन्द्र कुमार साहले आफू विद्यालयको पदेन सदस्य भएको र वडाध्यक्ष बिरामी भएको भन्दै अनुपस्थित भएको कारणले आफू संयोजक रहेर शिक्षक पदपूर्तिको लागि परीक्षा गराएको बताए । ‘परीक्षामा संयोजक रहेको हो,’ उनले भने, ‘यसको व्यवस्थापन सम्पूर्ण विद्यालय र शिक्षा महाशाखाले गरेको हो ।’ शिक्षक नियुक्त निष्पक्ष र पारदर्शी तरिकाले उत्कृष्ट हुनेलाई राखिएको उनले बताए । शिक्षक नियुक्तमा कुनै पनि चलखेल नभएको बताए ।

यता विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख दुर्गा प्रसाद खतिवडाले परीक्षाको लागि विज्ञको टोली माग गरेपछि परीक्षा भएको र उत्कृष्ट नतिजा ल्याउनेलाई छनौट गरिएको बताए । ‘दुई वर्षदेखि पदपूर्ति हुन नपाउँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या रहेको थियो,’ उनले भने, ‘विद्यार्थीको पठनपाठनमा सहज पु¥याउन विधि र प्रक्रिया पुरा गरेर शिक्षक नियुक्त भएका छ ।’