विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ मा रहेको रेमिट वचत तथा ऋण सहकारी संस्थाले विराटनगर महानगरपालिकामा पनि सेवा कार्यालयको विस्तार गरेको छ । महानगरपालिकाको पुष्पलाल चोकमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

बिहीबार एक कार्यक्रमबीच प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीले केन्द्र उद्घाटन गरेका छन् ।

व्यवस्थापकदेखि सञ्चालक समितिमा समेत महिलाहरूमात्र रहेको रेमिटले यसअघि टंकीसिनवारीमा केन्द्र सञ्चालनमा ल्याएको थियो । केन्द्र उद्घाटन गर्दै पराजुलीले महिलाहरूले नेतृत्व गरेको रेमिटले वचत गर्ने बानी विकास गर्न र त्यसको सही परिचालन गराउन थप जिम्मेवार भएर काम गर्नेमा आफू विश्वस्त रहेको बताए ।

संस्थाकी अध्यक्ष उमा घिमिरेले सहकारीमा महिला सेयर सदस्य संख्या पनि अत्याधिक रहेको बताउँदै वचत र ऋण परिचालनमा अनुशासित भएर अघि बढ्दै आएको बताइन् ।