विराटनगर । मंगलबार साँझदेखि भारतको मीरगन्ज पुल संचालनमा आएको छ ।

भारतीय पक्षले झन्डै एक वर्ष देखी मीरगन्ज पुलको अवरोध गर्दै आएको थियो ।  बिहारलाई नेपालको विराटनगरसँग जोड्ने मार्गमा पर्ने मीरगन्ज पुलमा भएको अवरोध खुलेपछि मंगलबार साँझदेखि मालवाहक सवारी साधन विराटनगर प्रवेश गर्न थालेका छन्।

‘झन्डै १२ महिनापछि मीरगन्ज पुल सन्चालन गर्न दिन भारतीय पक्ष राजी भएको छ,’ मोरङ व्यापार संघका निर्देशक कृष्ण रेग्मीले भने, ‘मंगलबार साँझदेखि यही पुल हुँदै मालवाहक सवारी साधनहरू नेपाल प्रवेश गर्न थालेका छन्। अब आयात व्यापारमा सहजता आउने निश्चित भएको छ।’

मंगलबार नेपाली र भारतीय पक्षका सरोकारवालाबीचको लामो छलफलपछि भारतीय पक्ष पुल खुलाउन सहमत भएको हो।

छलफलमा भारतका तर्फबाट आइसीपी प्रबन्धक रत्नकर यादव , एसडीएम एस कुमार, एनएच आई उमेश यादव र भाजपा नेता दिलीप झा सहभागी थिए। नेपालका तर्फबाट मोरङ व्यापार संघका विनीत सिंहानिया, मनीष मारु, सुशील सुराना लगायत सहभागी भएको निर्देशक रेग्मीले जानकारी दिए।

मीरगन्जमा निर्माण सम्पन्न भइसकेको नयाँ पुल प्रयोग गर्न नदिने, पुरानो पुलमा पनि जोखिम देखाउँदै अवरोध गर्ने भारतीय शैलीले नेपाली उद्योगी–व्यवसायी हैरान बन्दै आएका छन्। यस्तो भारतीय शैलीले नेपाली पक्षले छोटो बाटो प्रयोग गर्न पाएको थिएन।

बिहार अररिया जिल्लाको मीरगन्ज पुलबाट विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी आईसीपी जम्मा एक किलोमिटर दूरीमा छ। तर, दुबै पुल प्रयोग गर्न नपाउँदा नेपाली पक्षले एक वर्षयता १२० किलोमिटर लामो दूरी पार गरेर सुनसरीको भण्टाबारी नाका प्रयोग गर्नुपरेको थियो।

यसले नेपाली आयातकर्ताको लाागत लागत र झन्झट दुबै बढाएको थियो।

विराटनगरका उद्योगीहरूका अनुसार भण्टाबारी नाका हुँदै सामान आयात गर्दा प्रतिट्रक कम्तीमा १५ हजार रुपैयाँ लागत बढेको थियो। ‘अब त्यो लागत र झन्झट दुबै घटेको छ’, रेग्मीले भने ‘अब यो पुल दीर्घकालीन रूपमा चलाउनेबारे निश्चितता भए झनै राम्रो हुनेछ।’

मीरगन्ज पुल प्रयोग गर्न नपाईै भण्टाबारी हुँदै सामान ल्याउँदा नेपाली उद्योगीहरूले बाटोभरी स्थानीय सरकारले लिने विभिन्न शीर्षकको कर र ढुवानी खर्च बढेको बताउँदै आएका छन्। हरेक मालवस्तुमा प्रतिकेजी डेढ रुपैयाँसम्म लागत बढेको उद्योगीहरु बताउँछन्।

सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी र विराटनगरका व्यवसायीले १२ महिनायता विराटनगरको रानी नाकाबाट सामान आयात गर्न पाएका थिएनन्।

तेस्रो देशबाट भारतका कलकत्ता, विशाखापट्नम, मुम्बई, अमहदावाद जस्ता बन्दरगाह आइपुग्ने औद्योगिक कच्चा पदार्थदेखि खाद्यान्नसम्मका वस्तुहरू भारत बिहारको जोगबनी हुँदै विराटनगर भित्रने गर्थे। पुल अवरोध हुँदा तेस्रो देश तथा भारतबाट विराटनगर ल्याइने सबैजसो वस्तु बोकेका कन्टेनर र ट्रकहरु भण्टाबारी नाकाबाट भित्रने गरेका थिए।

विराटनगरका उद्योगी व्यवसायीले सात वर्षयता कुनै न कुनै बेला मीरगन्ज पुलको समस्याले सास्ती खेपिरहेकै छन्। अंग्रेजकै पालामा बनेको झन्डै सय वर्ष पुरानो फलामे पुल भासिने समस्याले नेपाली आयातकर्तालाई दुःख दिइरहेको छ। एक वर्षअघि त्यही पुलमा समस्या उत्पन्न भयो। त्यसयता रानी नाकाबाट सामान आयात हुन सकेको थिएन।