देशको पहिलो प्राविधिक विश्वविद्यालयमा ईन्जिनियर पढ्न विद्यार्थीको उच्च आर्कषण

विराटनगर । देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा इन्जिनियर पढ्न चाहने विद्यार्थीहरुको आकर्षण अत्यधिक बढेको छ । प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको दोस्रो शैक्षिक सत्रमा भर्ना भएर ईन्जिनियरिङ विषय पढ्न चाहने विद्यार्थीको आकर्षण अत्यधिक बढेको हो ।

दोस्रो शैक्षिक सत्रको भर्ना आवेदन खुल्ला भएपछि स्कुल अफ इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स इन्जिनिरिङ विषयमा स्नातक तहमा पढ्ने पाँच सय बढी विद्यार्थीले आवेदन दर्ता गराइसकेको प्रविधिकि विश्वविद्यालयका डिन डा. प्रचण्डमान प्रधानले बताए ।

डिन प्रधानका अनुसार भौतिक पूर्वाधार सम्पन्न कक्षा कोठा, कमप्युटरीकृत पठनपाठन र परीक्षा प्रणाली अनि उच्च स्तरको गुणस्तरिय प्रयोगशाला र विशिष्टकृत पाठ्यक्रम र महिला छात्राबास सहित आउन जान यातायातको समेत व्यवस्था भएकोले पहिलो शैक्षिक सत्रदेखि नै मनमोहनमा इन्जिनियर पढ्न चाहने विद्यार्थीहरुको घुँईचो लाग्न थालेको हो ।

इन्जिनियरिङ संकायका विभागीय प्रमुख इन्जिनियर नरेन्द्रकुमार डाँगीका अनुसार चालु शैक्षिक सत्रमा यही ३० कार्तिकसम्म नियमित र ९ मंसिरसम्म बिलम्ब शुल्क बुझाएर विद्यार्थीले अनलाइनमार्फत भर्नाका लागि आवेदन दिन सक्नेछन ।

२०७६ मा प्रदेश १ सरकारले संसदबाट कानुन बनाएर देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गराएको हो । पाठयक्रम र भौतिक पूर्वाधार निर्माण गरि दक्ष जनशक्त्ति नियुक्त्त गरिसकेपछि गत वर्षदेखि मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स इन्जिनिरिङ विषयमा स्नातक तहको पढाई सुरु गरेको हो ।

मुलुकको सर्वाङ्गीण विकासको लागि आवश्यक पर्ने उच्चस्तरिय प्राविधिक जनशक्ति उत्पादन गर्ने, बहुप्राविधिक विश्वविद्यालयको अवधारणा अनुरुप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक र अन्तर्राष्ट्रिय विकासक्रमसँग आबद्ध गर्न सक्ने मानव संशाधन विकास गर्ने यो विश्विद्यालयको ध्येय छ । सँगै विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र सीपको सान्दर्भिक अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने मनमोहन प्राविधिक विश्वविद्यालयको लक्ष्य छ ।

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूलअफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सञ्चालन हुनेछन् ।

यो विश्वद्यिालयले तीन वटा स्कूलहरु अन्तर्गत दशवर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारधी(पिएचडी) गरी २८ वटा विभिन्न विषयहरु सञ्चालन गर्ने नीति लिएको छ । सबै कार्यक्रमहरु सञ्चालन भएपछि मनमोहनमा हरेक वर्ष कूल २८ सय ३१ जना दक्ष प्राविधिक विद्यार्थी उत्पादन हुनेछन् ।

बिहिबार, २४ कार्तिक, २०७९, बिहानको ०८:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर