चन्द्र अधिकारी
आदरणीय पूर्वप्रधानमन्त्री ज्यू
नमस्कार !
मिति २०७९ कार्तिक १८ गते शुक्रबार तपाईले नेपालको सुदुरपश्चिममा गएर बोलेका कुराहरु सुने पछि मलाई र मेरो गाउँघरमा रहने जनताको तर्फबाट केही प्रश्न राख्ने जमर्को गरेको छु । कृपया नरिसाई उत्तर दिए धेरै आभरी हुने थिएँ ।
तपाईले एकातिर पार्टीको आगामी योजना सुदूरपश्चिममा विकासको मूल फुटाउने बताउनु भएको छ भने अर्कोतिर सोही सभामा कंगाल बुद्धि भएका मान्छे सरकारमा भए देश बिग्रने बताउनु भएको छ । हजुरलाई मेरो मनको एउटा प्रश्न यस प्रकार छ । समग्र देश नै बनाउने सोच राखेर २०७४ मा झन्डै दुईतिहाई मत दिएर पठाउँदा सुदुरपश्चिम र समग्र देश भरिमा के के गर्नुभयो ? दुईतिहाईको सरकारसम्म चलाउन नसक्ने र दुई–दुई चोटी ससद मास्ने प्रयास गर्ने मान्छेले अब बहुमत पाए बहुमतको सरकार चाहिँ कसरी चलाउनु हुन्छ ? कि फेरि तेस्रो पटक संसद मार्ने र राप्रपासँग सहकार्य गरि गणतन्त्रलाई नै विदा गर्ने सोच त होइन ? गणतन्त्र हाम्रो सानो दुःखले आएको होइन कमरेड ! हामी गणतन्त्र ल्याउने आन्दोलनमा हुँदा तपाइँ बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्दै हुनुहुन्थ्यो । कंगाल बुद्धि भएका मान्छेले सरकार चलाए देश नै कंगाल हुन्छ भन्नुभएको ठिकै रहेछ । के तपाईंको बुद्धि साँच्चै कंगाल नै भएर हो हामीले ५ बर्से सरकार टिकाउन नसकेको ? तपाईको अदूरदर्सिताको कारण आज मुलुकमा एक किसिमको आर्थिक संकट छ । तपाइँ प्रधानमन्त्री हुँदा गरेका कार्यको परिणाम हामी अहिले भोगिरहेका छौं ।
दार्चुलामा दीप प्रज्वलन गरेर एमालेको प्रचार अभियान सुरुवात गर्दै बैतडी पुग्नु भएका तपाइँले बैतडीवासीलाई विकास निर्माणका विभिन्न आयोजना पुरा गर्ने आश्वासन दिनुभएको छ । तपाइँलाई ५ बर्से यो मुलुक कै शक्तिशाली प्रधानमन्त्री बनाउँदा सुदुरपश्चिमले के पायो ? अनि समग्र रास्ट्रले के पायो कमरेड ? म जस्तो एउटा सामान्य नागरिकले अब तपाई बाट के आश गर्ने कमरेड ?
नेपाल–भारत सिमानाको नदी झुलाघाटमा पक्की पुल, महाकाली कोरिडोर आयोजना सम्पन्न, गोकुलेश्वरमा रहेको कृषि विज्ञान कलेज र पाटनमा रहेको भिमदत्त पोलिटेक्निकल शिक्षालयको स्तरोन्नति, दशरथचन्द प्रतिष्ठानलाई राष्ट्रिय प्रतिष्ठान बनाउने, खनिज पदार्थको उत्खनन् तथा बैतडीमा रहेको फस्फोराईड खानी सञ्चालन गर्ने भनेर भनिरहँदा तपाईलाई अलिकति पनि हेक्का हुन सकेन कमरेड ? यी सबै नेकपाको सरकार हुँदा किन भएनन् र यस्ता आश्वासन अहिले किन दिनु प¥यो ? कतै तपाइँको बुद्धि कंगाल भएकै हो कि भनेर एकपटक सोच्नु भयो त कमरेड ?
तपाइँले बैतडीसहित सुदूरपश्चिमका विभिन्न सामुदायिक क्याम्पसलाई आंगिक बनाउने बताएको सुन्दा मलाई कताकता कुरीकुरी भयो कमरेड ! तपाई जत्तिको शक्तिशाली प्रधानमन्त्री सायद यो मुलुकमा भोली अरू कोही होला वा नहोला । अनि यस्तो शक्तिशाली प्रधानमन्त्री हुँदा कति जना आंशिक प्राध्यापकहरू स्थायी बनाउनु भयो ? कति वटा सामुदायिक कलेजलाई आंगिक कलेज बनाउनु भयो कमरेड ? नेपालमा २०४६ सालमा तत्कालीन उच्च मावि ऐन आएर २०४८ सालदेखि उच्च माविमा पठन–पाठन हुन थालेको ३२ वर्ष लागेको छ । यो अवधिमा तपाइँले कति जना शिक्षकलाई स्थायी गराउनु भयो कमरेड ? हिंजो जुँघाको रेखि बस्दै गर्दा कक्षा ११ र १२ मा अध्यापन गर्न थालेको एक युवा आज उमेर हदको कारण आफूले अध्यापन गराउँदै गरेको विद्यालयबाट बिना सेवासुविधा रित्तो हात लिएर बाहिरिनु परेको छ । के यसमा तपाई जस्तो नेतालाई अलिकति पनि दुःख लाग्दैन कमरेड ? फेरि तपाईको नेतृत्वको पार्टीले घोषणा पत्र सार्वजनिक गरिरहँदा तपाईकै नेतृत्वमा रहेका भिम रावल जस्ता नेताले नै पत्याउन सकेनन् त कमरेड किन होला ? बरू हाम्रो पुस्ताले सकेन भनेर राजनीतिबाट तपाईहरूले सन्यास लिएर युवा पुस्तालाई छोडिदिए राम्रो हुनेथियो कि ?
अध्यक्ष ओली ज्यू ! तपाईले सुदूरपश्चिममा बसेर मंसिर ४ मा एमालेलाई भोट दिन आग्रह गरिरहँदा गाउँघरका मेरा आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु हाम्रा पनि केही प्रश्नहरु राखिदिनु न भनेर मलाइ भन्नु भएको हुँदा मैले ती प्रश्न जस्ताको तस्तै राख्ने कोशीस गरेको छु । तपाइँबाट सकारात्मक उत्तरको आशा गरेर बस्नु भएका मेरो गाउँघर दूरदराजका सबै जनतालाई प्रष्ट पारिदिनुभए म जस्ता धेरै नागरिक आभारी हुने थियौं ।
मंसिर ४ मा एमालेलाई भोट दिनुअघि सोध्नैपर्ने प्रश्नहरू
१) पानी जहाज आयो कि आएन ?
२) काठमाडौंमा मेट्रो रेल चल्यो कि चलेन ?
३) कुश्मामा आधुनिक रेल स्टेशन बन्यो कि बनेन ?
४) देशको ७७ वटै जिल्लामा स्मार्ट शहर बने कि बनेनन् ?
५) चुल्होमा ग्याँसको पाइप आयो कि आएन ?
६) जनतालाई बिस्तारामै खाना आयो कि आएन ?
७) सर्टिफिकेट धितो राखेर ऋण कति जनाले पाए ?
८) एक घर एक जनालाई रोजगारी दिइयो कि दिएन ?
९) भ्रष्टाचारीको अनुहार हेरियो कि हेरिएन ?
१०) देशमा सुशासन आयो कि आएन ?
११) बन्द उद्योगहरु खुले कि खुलेनन् ?
१२) राष्ट्रिय पूँजीको विकास गर्नुभयो कि भएन ?
१३) सबैले रोजगारी पाए कि पाएनन् ?
१४) राजनीतिक स्थिरता दिनुभयो कि भएन ?
१५) संविधानको रक्षा गर्नुभयो कि भएन ?
१६) लोकतन्त्रप्रति इमान्दार हुनुभयो कि भएन ?
१७) भ्यूटावरको नाटक रोक्नुभयो कि भएन ?
१८) प्रतिव्यक्ति आय ५,००० डलर भयो कि भएन ?
१९) पार्टी एकता जोगाउनुभयो कि भएन ?
२०) चुच्चे नक्शा किन गायव पार्नु भयो ?
२१) गोयलसामु किन झुक्नुभयो ?
२२) मोदीलाई अभिनन्दन किन गर्नुभयो ?
२३) एसपीपि किन भित्र्याउनुभयो ?
२४) बालुवाटार किन बेच्नुभयो ?
२५) दरबारमार्गको जग्गा कहाँ गयो ?
२६) गोकर्णेश्वर किन लुट्नुभयो ?
२७) यती–ओम्नीलाई किन पोस्नुभयो ?
२८) चोलेन्द्रलाई किन बोक्नुभयो ?
२९) संसद किन ९ महिना रोक्नुभयो ?
३०) रेल किन त्रिपालले छोप्नुभयो ?
३१) दलालहरू जति किन बोक्नुभयो ?
३२) ट्रस्टमा नक्कली जग्गा किन दिनुभयो ?
३३) सांसद अपहरण भए कि भएनन् ?
३४) दुई दुई पटक संसद भङ्ग किन गर्नु भयो ?
३५) यति, ओम्नी र बतासलाई किन पोस्नु भयो ?
३६) फेरि संसद भङ्ग नगर्ने आधार के ?
३७) दुई तिहाई मत भएको सरकार चलाउन किन नसकेको ?
३८) कमल थापालाई चुनाव चिन्ह सूर्य बेच्नु को रहस्य के छ ?
३९) तपाइँलाई फेरि भोट किन दिने ?
४०) भ्रष्टाचारको अन्त्य भयो कि भएन ?
यी माथिका ४० प्रश्नको चित्त बुझ्दो उत्तरको अपेक्षामा रहनु भएका मेरा आमाबुबा, दाजुभाई र दिदीबहिनीलाई निराश नपारी दिनु हुन अनुरोध गर्दै विदा हुने निर्णय गरे आगामी दिनमा फेरि भेट गरौंला । धन्यवाद !
– उहीँ नेपाललाई माया गर्ने एक नेपाली