खोटाङ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यान डाँडास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग भासिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको करिब ६० देखि ८० मिटर खण्ड भासिएको हो । कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर सवारी साधन आवत–जावतको प्रवन्ध मिलाइएको छ ।
२०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा करिब १०२० सेन्टिमिटर भासिएको थियो । यसपल्टको वर्षामा भने करिब एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी)राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकका सुपरभाइजर प्रदीप राईले बताए
भासिएको सडकको डिलतर्फको भाग पनि पहिरोको रुपमा भत्किएको छ । माथिल्लो सडक भासिएपछि सोही सडकको तल्लो टर्निङका सडकलाई समेत असर पर्ने देखिएको छ ।
चाडवाडलाई मध्यनजर गर्दै पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले दशैंअघि सेखुवा–चखेवाभञ्ज्याङ खण्ड मर्मत गरेको थियो । कालोपत्रेको ठेक्का लिने निर्माण व्यवसायी नै सम्पर्क विहिन बनेपछि आफैले मर्मत गर्नुपरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकका सव–इन्जिनियर केशव पौडेलले बताए ।

