विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ मा नगरवासीको सहभागिता र लगानीमा सेल्फी पुल निर्माण भएको छ ।
पुल बनेसँगै वडाको बिएफएम टोल र झरना चौक जोडिएका छन् । त्यहाँ अवस्थित नहरमा पुल नभएका कारण मानिसहरूलाई आउजाउमा निकै समस्या हुने गरेको थियो । निर्माण सम्पन्न भएसँगै साँझ बिहान आउजाउ गर्न सजिलो भएको स्थानीयले बताएका छन ।
‘पहिले बाँसको पुल हुँदा मानिस पनि फड्किएर तर्नुपर्ने अवस्था थियो नहरमै खसिने डर हुन्थ्यो, अब फलामको बनेपछि मोटरसाइकल र सिटी रिक्सामा बसेरै वारिपारि गर्न सकिन्छ,’ स्थानीय मञ्जित कामतल भने,‘चाहिएकै ठाउँमा पुल बनेकोले कारखाना टोलका मानिसहरूलाई समेत बजारतिर निस्कन सजिलो भएको छ ।’
स्थानीयका अनुसार प्रदेश नम्बर एक सरकारको तर्फबाट विनियोजन भएको रकम विराटनगर महानगरपालिकाले फ्रिज गरिदिएपछि पुलको काम बिचैमा अलपत्र बनेको थियो । तर, आफै लगानी गरी स्थानीयवासीले फलामको ट्रस्ट हालेर पुल निर्माण गरेको स्थानीय जयनाथ कामतले बताए ।
निर्माण कार्यमा समन्वय गरेका विराटनगर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष अक्षय सहनीले भने,‘ प्रदेश विकास कोषबाट विनियोजन भएको रकमबाट पुलको प्रारम्भिक कार्य सुरु गरेका थियौँ तर महानगरबाट काम अघि बढाउन विलम्ब भएपछि उपभोक्ता आफैले लगानी गरेपछि पुल तयार भएको हो ।’
पुलका लागि प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरिदिएका थिए । तर, पछि स्थानीय तहमार्फत हुनुपर्ने काम पुरा गर्न ढिलाइ भएपछि छुट्टाएको बजेट फिर्ता गएको थियो ।
स्थानीयको मागअनुरूप आफूले प्रदेश सरकारको तर्फबाट पुल निर्माणमा बजेट विनियोजन गरिदिएको तर महानगरबाट विलम्ब भएपछि स्थानीयकै पहल र लगानीमा पुल निर्माण भएको बताए । ‘त्यही स्थानमा पुलको आवश्यकता महसुस गरेका महानगरवासी आफैले घर घरबाट चन्दा संकलन गरेर पुल निर्माण गर्नु भएको छ,’ कार्कीले भने,‘विराटनगरमा विकासमा जनसहभागिता हुँदैन भन्ने दृष्टान्तलाई वडा नम्बर ६ का बासिन्दाले गलत साबित गरिदिनु भएको छ ।’
वडाध्यक्ष सहनीका अनुसार पुल निर्माण गर्न स्थानीयले रंग र सिमेन्टसमेत सहयोग गरेको सुनाए ।
गत आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारबाट कूल १० लाख ६९ हजार एक सय ९१ रुपैयाँ लागत अनुमानसहित बजेट विनियोजन भएको थियो ।

